
बुटवल, १६ मंसिर । सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि अशान्त बनेको पाँच नम्बर प्रदेशलाई शान्त पार्नकालागि तत्काल उक्त प्रस्ताव फिर्ता लिन सत्तारुढ दलका नेताहरुले नै माग गरेका छन् ।
संविधान संशोधन प्रस्तावमा पाँच नं. प्रदेशका पहाडी जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची र राप्तीका जिल्लाहरुलाई तराईबाट अलग्याउने गरी संशोधन प्रस्ताव गरिएकोमा आफूहरुलाई गम्भिर र चिन्तित बनाएको उनीहरुले बताएका छन् ।
नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल, क्षेत्र नं. ३ का सभापति प्रेम फौदार र बुटवल उपमहानगर समितिका सभापति खेलराज पाण्डेले आज संयुक्त विज्ञप्ती जारी गरी उक्त संशोधन प्रस्तावको प्रदेश नं. ५ सम्बन्धि बुँदा फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको हो ।
उक्त प्रस्तावका कारण सदियौंदेखि आत्मीयता र भावनात्मक रुपमै एकाकार भएर बसेको भूगोल र आत्मीयतामाथि अठोर अन्याय हुनुका साथै सोही कारण पाँच नंम्बर प्रदेशमा रहेका पहाड तथा तराईका जिल्लाहरु अत्यन्तै अशान्त बनेको विज्ञीतीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा पाँच नम्बर प्रदेश नटुक्रयाउने जनादेश सहित भएको आन्दोलनमा आफूहरुको ऐक्यवद्धता र आवश्यक परे नेतृत्व लिन समेत तयार रहेको उल्लेख गरिएको छ ।