शिव डुम्रे /
बुटवल, १८ मंसिर । आन्दोलनको आज चौथो दिनपनि बुटवलको अवस्था उस्तै छ । विद्यालय, कलकारखाना, सरकारी कार्यालय, उद्योग, पसल व्यवसाय, यातायात पूरै ठप्प छ । जनताहरु न्युन मात्रामा सडकमा छन् राष्ट्रिय झण्डा हातहातमा लिएकै छन् । कालो व्यानरहरुमा प्रदेश विखण्डन गर्न पाईँदैन भन्ने नाराहरुसहित बाटोमा लाम लागेर बसेका छन् ।
हिजोअस्ती बालिएका टायरहरुको कालो रंग बाटोमा उस्तै छ । फाट्फुट् बाईक दौडेपनि भित्री बाटो प्रयोग गरिरहेछन्, मुख्य सडक बालबालीकाको लागी क्रिकेट मैदान बनेको छ, प्राय ः यात्रुहरु साझ परेपछि बसपार्क छिर्छन र गाडीहरु रातीमा मज्जाले दौडिरहेका छन् । युवाहरु बाटोमा बसेर दिन विताईरहँदा यता बुटवलस्थित सक्रिय लायन्स क्लब अफ बुटवल सिटिले भने सडक सरसफाई गरेको छ ।
लायन्स क्लब अफ बुटवल सिटिका अध्यक्ष डि.वि. खत्रीसहितको टोली यतिबेला कुचो, गैची, कोदाली, झाडु डस्टविन सहित बाटोमा छ । हाम्रो रुपन्देही हरियाली रुपन्देही बनाउँ भन्दै आजभन्दा झण्डै ५ महिना अगाडी लगाएको रुखहरुको संरक्षण साथै बाटोको सरसफाई गर्ने भन्दै क्लबले आम युवाहरुलाई सडक सरसफाई अभियानमा जुटाएको हो ।
झण्डै ३ दर्जन युवाहरुले सडकको छेउछाउलाई सफा गर्दै गरेको दृश्यले आम युवाहरुलाई सरसफाई गर्न उद्दत गरेको देखिन्छ । अध्यक्ष खत्रीले भने, ‘बन्दमा अरु केही काम नभएर समय खेर फाल्नुभन्दा हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने प्रदुषणलाई घटाउने र सरसफाई गर्ने गर्दा चौतर्फि फाईदा हुन्छ ।’ झण्डै ५ महिना अगाडी लायन्स क्लब अफ बुटवल सिटिले सडकको विचभागमा हरियाली रुपन्देहीको अवधारणासहित झण्डै ६० बटा विरुवा रोपेको थियो र त्यसको संरक्षण गर्न क्लब लागिपरेको छ ।
यस्तो कार्यबाट युवाहरुलाई सकारात्मक र संन्देशमुलक काम गर्नको लागी उत्प्रेरित गर्छ यस्तो रचनात्मक कामले बन्द पनि उपयोगी हुन सक्छ कि ।