
काठमाडौँ, २१ मङ्सिर । थारु कल्याणकारी सभाले नवलपरासी जिल्ला पूरैलाई ५ नं प्रदेशमा राख्न माग गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा थारु कल्याणकारी सभा नवलपरासीका सभापति गणेशमान महतोले थारु जातिको ऐतिहासिक थातथलो रहेको उक्त स्थानलाई टुक्र्याएर तराईका आदिवासी थारुमाथि गम्भीर षड्यन्त्र गरिएको आरोप लगाउनुभयो ।
नवलपरासीलाई टुक्र्याएर ४ र ५ नं प्रदेशमा विभाजन गरिनु व्यावहारिक नहुने बताउँदै उहाँले भन्नुभयो – “वर्तमान संविधानमा उल्लेख गरिएको प्रादेशिक सीमाङ्कनअनुसार थारु बाहुल्य रहेको नवलपरासीको नवलपुर क्षेत्रलाई प्रदेश नं ४ मा राखेमा सो समुदायको आत्मसम्मान, स्वाभिमान, भाषा, संस्कृति र पहिचानलाई समाप्त गर्नेछ ।”
सो सभाले विभिन्न राजनीतिक दललाई ज्ञापनपत्र बुझाउने, गाउँ जागरण अभियान सञ्चालन गर्ने, बुद्धिजीवी र नवलपुर क्षेत्रका सांसदसँग अन्तक्र्रिया गर्ने, सरकारी कार्यालय घेराउ गर्ने, पूर्वपश्चिम राजमार्गमा कोणसभा गर्नेलगायत कार्यक्रम सार्वजनिक गरेको छ ।