
बुटवल, २१ मंसिर । पाल्पाको बल्ढेङ्गगढी गाविसमा २५ औं गाउँ परिषद् सोमबार सम्पन्न भएको छ । परिषद्ले आगामी एक वर्षमा गाविसभरि विद्युत विस्तार गर्ने योजनाका साथ धेरैजसो बजेट विद्युतमा छुट्याएको छ ।
परिषद्ले पूँजीगततर्फ ३६ लाख ६२ हजार तथा चालुतर्फ ५ लाख ४५ हजार गरी कुल ४२ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । जसमध्ये २४ लाख ४२ हजार ८ सय ४० रुपैयाँ विद्युत विस्तारको लागि छु्ट्याइएको छ ।
परिषद् समापनको अवसरमा बोल्ने बक्ताहरुले गाविसका ८ वटा वडाहरुमा विद्युत विस्तार गर्नुपर्ने भएकाले विद्युतमा बजेट धेरै छुट्याउनुपर्ने बाध्यता रहेको उल्लेख गरे । उनीहरुले अन्य केही टुक्रे योजनालाई छट्याएर विद्युतमा धेरै रकम खर्च गर्नुपर्ने आवश्यकता औंल्याए । गाविसको वडा नं १ मा भने विद्युत विस्तार भइसकेको छ ।

गाविस सचिव हुमबहादुर कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रमा नेपाली काँग्रेसका गाउँ सभापति गिरबहादुर बगाले, एमालेका अध्यक्ष रामबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर कार्की, जेष्ठ नागरिक कृष्णबहादुर विक, पत्रकारद्धय भुवन कार्की र कमल रायमाझी, जनकला सापकोटा लागायतले बोल्दै गाविसको समग्र विकासका निम्ति सबै सरोकारवालाहरु एकजुट हुनुपर्ने बताए ।