
बुटवल, २६ मंसिर । तिलोत्तमा उद्योग बाणिज्य संघले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुरमा सञ्चालन गरेको प्रथम औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सवमा स्थानीय हस्तकलाका स्टलमा दर्शकको आकर्षण बढेको छ ।
स्थानीय स्रोत साधन तथा शिपको प्रयोगबाट बनाईएका घरेलु हस्तकलाका सामाग्रीमा दर्शकको आकर्षण बढ्नुका साथै त्यस प्रकारका साना उद्योगहरु सञ्चालनकालागि परामर्श समेत दर्शकले लिने गरेका छन् । स्थानीय हस्तकलाका सामानहरु, कुसन तथा गुडीया, अल्लो (सिस्नोको रेसा)बाट निर्माण गरिएका लत्ता कपडा तथा झोलाहरुमा दर्शकको आकर्षण बढेको स्टल धनीहरुले बताएका छन् ।
पर्दशनीमा आउने अधिकाँश दर्शकले स्थानीय हस्तकलाका सामानमा सोधी खोजी गर्ने गरेको प्रर्दशनी सचिवालय सदस्य डोलराज गैरेले बताउनु भयो । त्यस्तै जाडोका कपडा किन्नकालागि पनि दर्शकहरु मेला भर्ने गरेका छन् । जाडो ह्वात्तै बढेसंगै त्यस्ता कपडा बिक्रिका लागि राखिएका स्टलमा समेत दर्शकको भिड लागेको छ ।
प्रदर्शनी अन्तरगत आईतबार भएको लोक दोहोरी प्रतियोगितामा एसके म्युजिक बुटवल क्वाटर फाईनलमा प्रवेश गरेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पासंग भएको प्रतिस्पर्धामा पाल्पालाई पछाडी पार्दै एसके क्वाटर फाईनलमा प्रवेश गरेको हो । त्यस्तै सोमबार लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देही र गुल्मीका बिचमा पहिलो चरणको अन्तिम प्रतियोगिता हुँदैछ ।
दोहोरी गीत प्रतियोगितामा यस अँगाडी लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जा र गोधुली रोधी घर बुटवल क्वाटर फाईनलमा प्रवेश गरिसकेको साँस्कृतिक कार्यक्रम निर्देशक समितिका संयोजक तथा निर्णायक राधेश्याम राजभण्डारीले बताउनु भयो । सोमबार लोक तथा दोहोरी गायक बद्री पंगेनी, मुना थापा, श्रृष्टि आले र प्रचण्ड जिसीले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएको सांस्कृति समितिका संयोजक धनबहादुर गुरुङ्ले बताउनु भयो ।
सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य तथा गायन प्रतियोगिता अन्तरगतका कार्यक्रम पनि भईरहेका छन् । त्यस्तै मेलामा २९ गतेदेखि हुने राष्ट्रिय भलिवल प्रतियोगिताको तयारी पनि तिव्र रुपमा भईरहेको खेल व्यबस्थापन उपसमितिका संयोजक सुदिप कंडेलले बताउनु भयो ।