
अपराधको जालो तोडियो : प्रहरी
बुटवल, २८ मंसिर । बुटवल आसपासमा भएका बिभिन्न आपराधिक गतिबिधिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
२०६८ साल यता बुटवल तथा आसपासका क्षेत्रमा लुटपाट गर्ने सर्लाही सुन्दरपुर चौराहा गाबिस वडा नं. ८ पिपराभिट्टाका ६० वर्षीय चनरु हजारी (पासवान) र सहयोगी सर्लाही वरथहवा नगरपालिका ५ का ४७ वर्षीय दिपक विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो । ती अपराधिक घटनामा संलग्न रहेका अन्य दुई जना भने पहिचान भएकोले उनीहरुले छिट्टै पक्राउ गरिने प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले लुटिएका तीन थान मोवाईल, फलामको औजार एक थान तथा औजार राख्ने झोला तथा एक तोला दश लाल सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त अपराधमा रुपन्देही तथा आसपासका जिल्लाका व्यक्तिहरुको संलग्नता नरहेको प्रहरीको दावी रहेको छ ।

गत कात्तिक १२ गते रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ की २१ वर्षीय सुत्केरी नमकला पाण्डेलाई वजनदार फलामको तिखो हतियार प्रहार गरेर घाईते बनाई गरगहना लुटपाट भएको प्रहरीले आज बुटवलमा पत्रकार सम्मेलन गरी जनाएको छ । उनको उपचारको क्रममा मृत्यु भईसकेको छ ।
सोही घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले श्रीङ्खलावद्ध अपराध गर्ने गिरोहको नाईकेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक (एस.पी.) रविन्द्रबहादुर धानुकले बताउनु भयो । श्रीङ्खलावद्ध भएका आपराधिक कृयाकलापमा अन्य दुई जनाको समेत प्रत्यक्ष संलग्नता रहेको र तीनीहरुको समेत पहिचान भईसकेकाले उनीहरुलाई पनि चाँडै नै पक्राउ गरिने उहाँले बताउनु भयो ।
०६८ साल यता बुटवल तथा आसपासका क्षेत्रमा भएका १५ वटा अपराधिक कृयाकलापमा उनीहरुको प्रत्यक्ष संलग्नता रहेको र ती घटनामा एक महिला सहित ४ जनाको हत्या भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका मध्ये पासवान मुख्य नाईके हुन् भने विश्वकर्मा लुटपाट भएका गरगहना गरिद गरी सहयोग गर्ने व्यक्ति हुन् ।

उनीहरुले २०६८ कात्तिक १३ गते साविकको शंकरनगर ५ की ७५ वर्षीय नेत्रकुमारी बस्नेतलाई धारिलो हतियार प्रहार गरि सुनका गरगहना लुटपाट गरेको, ०७१ असोज १३ गते रुद्रपुर ९ प्रतावपुरका चन्द्रबहादुर कुवँरलाई धारिलो हतियार प्रहार गरी सुनका गरगहना लुटपाट गरेको, २०७२ कात्तिक २ गते देवदह ८ निवासी ९२ वर्षीय चन्द्रकला सापकोटालाई वजनदार तिखो हरियार प्रहार गरि सुनका गरगहना लुटेको, ०७३ भदौ १८ गते रुद्रपुर ५ चापा बस्ने ३२ वर्षीय रनमायाँ पुनलाई हतियार प्रहार गरी गरगहना चोरी गरेको लगायत १५ वटा अपराधिक घटना घटाएको प्रहरी समक्ष स्वीकार गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले बताउनु भयो । उक्त अपराधमा घाईते भएका सबैको मृत्यु भईसकेको छ ।
यसलाई प्रहरीले प्रहरी संगठनको ठूलो सफलता भएको बताएको छ । भदौदेखि कात्तिकको बिचमा तीज, दशैं, तिहारको मौका छोपेर भएका यस्ता अपराधिक गिरोहलाई पक्राउ गरिएकाले आगामी वर्ष उक्त समयमा यो प्रकृतिका अपराधिक घटना नहुने प्रहरी नायव उपरिक्षक मरासिनीले बताउनु भयो ।
अनुसन्धानका क्रममा उनीहरुले रातीको समयमा बिशेषगरी बृद्ध तथा एकल, महिला, सुत्केरी जस्ता शारीरिक रुपमा कमजोर महिलालाई सुतेको मौका छोपेर टाउकोको कन्चटमा प्रहार गरी असक्त बनाउने र भएका गरगहना लुटपाट गर्ने गरेको भेटिएको अनुसन्धानमा खटिनु भएका वडा प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी निरिक्षक प्रदिपकुमार डिसीले बताउनु भयो ।