तीनवटै चुनाव एकैपटक : डा. भट्टराई

1.3K

तीनवटै चुनाव एकैपटक : डा. भट्टराई

dr-baburam-bhattarai

बुटवल, २८ मंसिर  । नयां शक्ति नेपाल पार्टीका संयोजक एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तीनवटै तहको निर्वाचन एकैपटक गर्नुपर्ने तर्क अघि सारेका छन् ।

२०७४ माघ भित्र निर्वाचन हुन नसके संंविधान कार्यान्वयन हुन नसकी संवैधानिक संकट उत्पन्न हुने भएकाले स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्नुपर्नेमा उनको जोड छ । नयां शक्ति पार्टीका ५ नंं. प्रदेशका केन्द्रीय परिषद सदस्यहरुको आज लुम्बिनीमा सम्पन्न वैठकलाई सम्बोधन गर्दै संंयोजक भट्टराईले यस्तो तर्क गरेका हुन् ।

निर्वाचन कानुनहरु बनि नसकेको र दलहरुबीच सिमांकन लगायतका विषयमा कुरा मिल्न बाकी हुंदा तीन तहको चुनाव अलग–अलग गर्न गाह्रो पर्ने र आर्थिक हिसाबले पनि मुलुकलाई बोझ पर्ने हुंदा एकैपटक गर्नु उपयुक्त हुने तर्क गरे । ‘संविधान लागु गर्न ०७४ साल माघ भित्र  चुनाव नगरी हुंदैन’–भट्टराईले भने–‘त्यसैले तीनवटै तहको चुनाव एकैपटक गर्दा सजिलो र कम खर्चिलो हुन्छ ।’ पार्टी संयोजक भट्टराईले आर्थिक समृद्धि, सुशासन लगायत पांच ‘स’ लाई व्यवहारमा उतार्न चुनावमा श्रेष्ठता हासिल गर्नुपर्ने भएकाले  पार्टीको सम्पूर्ण शक्ति र ध्यान चुनावमा केन्द्रीत गर्न केन्द्रीय परिषद सदस्यहरुलाई निर्देशन दिए ।

संविधान बचाउन पनि यसको संशोधन अपरिहार्य रहेको तर्क गर्दै उनले पहाडे अन्ध राष्ट्रवाद र दक्षिणपन्थी अतिवादबाट जोगिएर सबै जाति,समुदाय र क्षेत्रका अधिकार सुनिश्चित हुने गरी सिमांकनको समस्या हल गर्नुपर्नेमा जोड दिए । संघीयतालाई स्वीकार गरिसकेपपछि फलानो अञ्चल वा फलानो जिल्ला टुक्राउन हुन्न भन्ने अडान प्रतिगामी हुने भन्दै भट्टराईले संविधान संशोधनविरुद्ध एमालेले अहिले  गरिरहेको आन्दोलन चुनावी स्वार्थ मात्र भएको स्पष्ट पारे ।

पार्टीले लिएको आर्थिक समृद्धि लगायत समय सापेक्ष नीतिहरुका कारण पुराना पार्टीहरुप्रति जनताको आशा र विश्वास मरिसकेको र नयां शक्तिप्रति जनतामा आशा रहेको र विभिन्न पार्टीबाट ध्रुविकरण तीब्र भएको भट्टराईले बताए । ६ महिनाभित्र पार्टी सदस्य संख्या तीन लाख पु¥याउने लक्ष्यसहित केन्द्रीय समितिले कार्ययोजना बनाएको जानकारी दिंदै उनले घर घरमा नयां शक्ति अभियानलाई तीब्रता दिन पनि निर्देशन दिए ।

मुलुकमा राजनीतिक स्थायीत्व र तीब्र आर्थिक विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने विषयलाई पार्टीले प्राथमिकताका साथ उठाउने र १० लाख हस्ताक्षर सरकारलाई बुझाउने पार्टीको तयारी रहेको पनि संयोजक भट्टराईले बताए ।

वैठकमा पार्टीकी सहसंयोजक दुर्गा सोब, पार्टीका प्रवास इन्चार्ज नवराज सुवेदी, ५ नंं प्रदेश संयोजक डा. सुरेन्द्र चौधरी,सहसंयोजक कर्णध्वज केसी,हालै मात्र फोरम लोकतान्त्रिकबाट नयां क्तिमा प्रवेश गरेका पुर्व मन्त्री दानबहादुर चौधरी लगायत प्रदेश नंं. ५ का ११ वटै जिल्लाका संयोजकहरुले आआफ्ना भनाई राखेका थिए ।

वैठकमा रुपन्देही इन्चार्ज यज्ञ पोखरेल,नवलपरासीका चिनक कुर्मी,कपिलवस्तु संयोजक नारायण खनाल,गुल्मी संयोजक पुनाराम ज्ञवाली,अर्घाखांची संयोजक खिमबहादुर विक,पाल्पा संयोजक सूर्य विक, प्युठान संयोजक हिमबहादुर क्षेत्री, बर्दिया संयोजक केशव पौडेल, दाङ संयोजक धिरज श्रीपाली, नेपाल प्रेस सोसाइटी ५ नं. प्रदेश संयोजक टोपराज शर्मा, युवा विभाग संयोजक जीएस गुरुङ लगायतले मन्तव्य राखेका थिए ।