
मिना पौडेल/
देवदह, १ पुस । देवदह नगरपालिका वडा नं ९ मा रहेको यो बृक्ष अत्यन्त अलौकिक र बिशाल वृक्षको रुपमा परिचित छ । सधै भरि हराभरा रहने यो बृक्षलाई नेपालकै ठूलो बृक्षको रुपमा पनि लिइन्छ । यो अलौकिक र बिशाल बृक्ष बुद्धकालिन भएको तथ्य ऐतिहासिक र धार्मिक पुस्तकहरुबाट समेत पुष्टि भएको छ ।
सधैभरी हराभरा रहने यो बृक्षलाई नेपालकैे मात्र नभएर एशियाकै ठूलो बृक्षको रुपमा लिइन्छ । करिब ३० मिटर परिधि र ३० मिटर उचाई भएको यस बृक्षले झन्डै ४ कठ्ठा जमिन ओगटेको छ । गिद्ध जातको चरा यो रुखमा नबस्ने, रुखको नजिक हात्ति नजाने लगायत अलौकिक मानिने यो बृक्ष कहिल्यै उजाड हुदैन । यस बृक्षको नामबाट यो क्षेत्रको समेत परिचय बनेको छ ।
पाँकरी रुखमा बिभिन्न आकृतिहरु देख्न सकिन्छ हामीले कल्पना गर्दै जादा बिभिन्न देविदेवताहरुको आकृति देखिने हुँदा पनि स्थानियहरुले रुखको फेदमा धार्मीक मान्यता साथ पुजा अर्चना गर्ने गर्दछन् । पुर्व पश्चिम महेन्द्र राजमार्गको शित्तलनगर चोकदेखि २ कि.मी. दक्षिणमा रहेको पाकडी वृक्ष सबैको आकर्षणको केन्द्र बनेको छ ।
देवदह नगरपालिकाको महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको पाकडी वृक्षलाई देवदह नगरपालिकाले विकासको कार्ययोजना तयार गरि संरक्षण र विकासको थालनी गरेको छ । यस वृक्षलाई साक्षी राखी प्रेम प्रस्ताव राखेमा वा यसको वरपर नाम लेखेमा सम्बन्ध सुदृढ हुने विश्वास राखी युवा युवती आउने गरेको पाइन्छ । चलचित्रको छायाङ्गन गर्न र फोटो खिच्न मात्र नभई यस बृक्षको फेदीमा बसी आत्म सन्तुष्टि लिनका लागि समेत पर्यटकहरु आउने गर्दछन् ।
देवदह नगरपालिका कार्यकारी अधिकृत गणेश घिमिरेले आफुहरु देवदह नगरपालिकालाई आध्यात्मिक नगरका रुपमा परिचित बनाउने लक्ष्यसहित गुरुयोजना अघि बढाएको बताउनुभयो । बुद्धकालिन धेरै स्थलहरु रहेको देवदहलाई जोडेर पर्यटकीय नगरका रुपमा विकास गर्ने अभियान समेत शुरु भएको उहाले दाबी गर्नुभयो । पाकडी बृक्ष संरक्षणको लागि आर्थिक वर्ष २०७२/७३ को लागि ५ लाख रकम बजेट विनियोजन गरी भौतिक पुर्वाधारका काम अघि बढाएको समेत बताउनुभयो ।
यसका साथै पर्यटकीय क्षेत्रका रुपमा पाकरीलाई विकास भएको सो क्षेत्रका सुरक्षाका लागि तारजाली गर्ने कामको साथै हेरालुको समेत व्यवस्था गरिएको उहाले बताउनुभयो । उक्त बृक्षको रेखदेखको लागि हेरालुलाई मासिक ४ हजार समेत नगरपालिकाबाट दिने व्यवस्था गरिएको छ । पाकडी बृक्षलाई थप आकर्षित गर्नको लागि त्यस क्षेत्र वरिपरि जग्गा बिस्तार गरिने, त्यँहा सम्म पुग्ने बाटोको लागि स्तरउन्नती गरी कालेपत्रे गरिने बताउनुभयो । उहाले सो क्षेत्रमा सुन्दर बगैचा सहितको लागि पाकरी पार्क बनाउने योजना रहेको सुनाउनुभयो ।
त्यसैगरी पाकडी बृक्ष बौद्धकालिन बृक्ष रहेको दाबी पाकरी बृक्ष संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद पाण्डेको छ । उहाका अनुसार “बौद्धकालमा गौतम बुद्धले पाकडी बृक्ष भएको स्थानमा होमखाडी बनाएर यज्ञ गरेको बुद्धग्रन्थमा उल्लेख गरिएको छ ।” यज्ञ गरिएको सोही स्थानमा पाँकरीको बृक्ष उम्रेको र यो बुद्धसंग सम्बन्धित रहेको किंबदन्तिबाट पुष्टि हुन्छ अध्यक्ष पाण्डेका अनुसार बृक्षलाई अझ सुन्दर र आकर्षित गर्ने कामका लागि स्थानिय संघसस्सथाहरुको सहकार्यमा कामहरु गरिएको बताउनुभयो ।
पाँकरी बृक्षको लागि जग्गा थप बिस्तार गर्ने कामका लागि समेत लागि परेको बताउनुभयो । यो बृक्ष हेर्न बर्सेनी हजारौ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् ।