बाँच र बाँच्न देउ अहिलेको निकास बुद्धको मध्यम मार्ग

1.3K

बाँच र बाँच्न देउ अहिलेको निकास बुद्धको मध्यम मार्ग

lokneshलोकनेश ढेंगामगर/
आज भन्दा २५ बर्ष अगाडी देखि मैले कलम चलाउन थालेको हो । पत्रकारिता महाविद्यालय दिल्ली Institute या Journalism बाट सन् १९९२ मा मैले पत्रचारबाट अध्ययन गर्थे । म दश बर्षको हुँदा नै बाबा संग सपरिवार कानपुर आएका थियौं । बाबा बृर्टिश आर्मीबाट रिटायर्ड भएर पनि भारतको कानपुरमा जागिर गर्नु हुन्थ्यों । मैले भारतमा नेपाली कलिला बालकहरु होटल र कोठीहरुमा भाँडा माज्दा हात सड्ने गरी काम गरेको देख्थें । उनीहरुको आवस्था निकै दर्दनाक थियो । पानी छुन प्लाष्टिक बेर्न पथ्र्यों ।

धेरैजसो मंगोल अनुहारको ती कलिला बालकहरुको नाम जे भए तापनि उनीहरुलाई ‘बहादुर’ ‘कान्छा’ र साहँु रिसाएको छ भने ‘पहाडी’ भन्दै कराउँन्थ्यें । त्यसैगरी बेश्यालयहरुमा मंगोल अनुहारका नेपाली युवतीहरु भएको सुन्दा लाजै आएर आउथ्यों । यो दुर्दशा देखेर यिनीहरु भारत नआए पनि हुन्थ्यों । यसले हामी नेपालीहरुको बदनामी भएको महशुस हुन्थ्यों । पढ्ने उमेरका यी कलिला केटाहरु नेपालमै नपढेर, दुई छाक खाना पनि नेपालीहरुमा यस्तो समस्या ! यस्तो दुःख पाउन किन आए होलान् ? नेपाली युवतीहरुलाई कसले बेचे होलान् ! नेपाल सरकारले के हेरेर बसे होला ! मेरो मनमा यी प्रश्नहरु खेली रहन्थ्यों ।

मैले एकदुई जना नेपाली सँग सोध्दा – “पहाडमा बिहान देखि रातीसम्म मरेर काम गर्दा पनि भात खानु भनेको चार्ड पर्वमा मात्रै हो । आटो पनि साल भरी पुग्दैन ।” त्यस बेला गरिबीको कारण मात्र सोच्थे म मा राजनीति बारे सोचै आउथिन् । म डी.ए.बी. इन्टर कलेजमा एघारमा पढ्दा त्यहाँ एक जना नेपाली कर्मचारी भोजराज उप्रेतीसँग परिचय भयो । उहाँले एक दिन कलेजको समयमा नेपाली एकता समाजका तत्कालिन केन्द्रीय अध्यक्ष गोविन्द बहादुर थापासँग भेट गराउनु भयो । मैले मेरो मनमा लागेको जिज्ञासाहरु सोध्यें–“मंगोल अनुहार भएको नेपालीहरुको हालत किन दयनीय छ ।” उहाँले नेपाल आदिवासी जनजाति सम्मेलनको पुस्तक दिनु भयो । मनमा थियो ति कलिला बालक र जवरजस्ती वेश्यावृत्ति गर्न बाध्य भएको ति युवतीहरुलाई समाज सेवा गर्ने तर मेरो राजनीति पनि यही बाट शुरु भयो ।

म अखिल भारत नेपाली विद्यार्थी संघ कानपुर शाखा–अध्यक्ष हुँदा मुमाराम खनाल केन्द्रीय महासचिव हुनहुन्थ्यो । फेरि सन् १९९२ जनवरीमा १४ औं अखिल भारत अधिवेशनले म केन्द्रीय कोषाध्यक्ष भए । मैले मोहन विक्रम सिंहको लेखहरुका संग्रह “चार दशक” र सिताराम तामाङ्गको नेपालको आदिवासी जनजाति समस्या बारे पढें । कसरी शासक जातिले यहाँका मुल निवासी र दलित माथि गरेको शोषण, अन्याय र अत्याचार जसरी खुलस्त रुपमा प्रस्तुत गरेको छ ।

आज सम्म मैले अन्य पुस्तकमा पाएको छैन । सिंह र तमाङ्गको पुस्तक बाट मैले वर्गीय हताएर जातीय रुपमा हेर्दा नेपालका आदिवासी जनजाति दलित र पछौटे मधेसीहरुको अवस्था मानव अधिकारको नजरले बाँच्न पाउने अधिकारबाट पनि बन्चित देखे । गोरखपुरमा भएको १५ औं अखिल भारत नेपाली विद्यार्थी संघको अधिवेशनमा नेतृत्वको विषयमा मेरो चित्त बुझेन मलाई धेरै कुरा भन्न मन थियो तर भन्न सकिएन संकोच मानेर गुमसिएर बसें । त्यस समय देखि म भित्र जातिय चेतना जागिसकेको थियो । मनोविज्ञान पढाउने शिक्षकसंग मैले आफ्ना जिज्ञासा राखे– “मनमा थुप्रै विरोध गर्न सोच हुँदा हुदै पनि, संकोच हुन्छ , गुम्सिएर बस्नु पर्छ ।

म किन बोल्न डराउँछु । किन बोल्न सक्दिैन ? उहाँले विगत, इतिहास भन्न पठाउनु भयो । मैले बताए । सरले भने–“तिम्रो समुदाय माथी सयौं बर्ष देखि त्यहाँका शासक वर्गले दमन, अत्याचार विश्वासघात गरे, त्येही कुरा तिम्रो बुर्जुगहरुले पिढी दर पिढी भनेको तिमीले बच्चा देखि सुन्दै आयौं । त्यो तिम्रो मस्तिकमा गएर बस्यो । तिमीले लेखेर तिम्रो मनमा लागेको कुरा भन्न सक्छौं । हुनुपनि हो गोर्खा राज्य विस्तारको बेला हाम्रा पुर्खाहरुलाई नराम्रो तरिकाले उपयोग गरेको देखिन्छ । ठकुरी, क्षेत्री मगरको सन्तान हो भनेर भ्रम छरे त्यस पछि फौजी अभियान सिद्धिए पछि सत्ता ठकुरी, बाहुन, क्षेत्रीको हातमा रह्यो ।

पानी चल्ने खेत उनीहरुले विर्तामा पाए । हाम्रा पुर्खा हरुलाई डाँडा–काँडामा फडानी गर र बस नियम कानुन बनाए । जात पनि तल झारी दिए, आफ्ना रगत बगाएर नेपाल एकीकरण ग¥यों । हाम्रो पुर्खाले पायो के त ! फौजी अभियानमा लगाउनु भन्दा पहिला हाम्रा पुर्खासंग यो दिन्छु ! उ दिन्छु ! सम्झौता गरे होलान् ! तर आर्थिक, भौतिक र पहिचान नै लुप्त गराउने षड्यन्त्र गरेर ठुलो विश्वासघात भएको देखिन्छ । हाम्रा बुर्जगहरुले हामीले राजनीति गर्नु हुन्न ! कसैको अगाडी त्यसको विरोध गर्नु हुन्न ! बाहुन÷क्षत्रीको विरोधमा बोल्न हुँदैन ! सानैमा हाम्रो मष्तिस्कमा भरि दिएको हुन्छ । यस कारण पछौटे मानसिकतामा हामी जिउन बाध्य छौं । देशको मुल निवासी हुँदा हुदै पनि यस्तो डर–त्रास भनाईले हाम्रा पुर्खा माथि कति अन्याय–अत्याचार राज्यसत्ताबाट भएको होला यो अझै पनि शोधको विषय हो ।

आदिवासी पत्रकार मित्रहरुले न्युज मात्रै होइन आफ्नो समुदायको भ्युज पनि लेख्नु पर्छ । हाम्रो ग्रन्थ इतिहास खरानी पारी सक्यो जति हुन सक्छ आउने पिढीलाई कोरेर छाड्नु पर्दछ । किनकी हाम्रो इतिहास पहिला भन्दा अहिले केही उजागार भएको छ र आउने पिढीले अझै उजागर गर्दै जानेछन् । समाजशास्त्री डा. कृष्ण भट्टचन भन्छन् – ‘आदिवासी जनजाति आन्दोलन अझै पनि तल्लो तहसम्म पुग्न सकेको छैन । त्यसैले भारी बोक्ने, निरक्षक, आदिवासी जनजाति, दलितले किन हामीले भारी बोक्न परेको छ ? अपमान सहनु परेको छ ? भनेर बुझ्न सकेका छैनन् । उनीहरुले भोगिरहेको समस्या प्रधान ठान्छन् । तर आफुले भोगेको समस्याको कारक सत्ता हो भन्ने बुझे पछि अवस्था यस्तो रहन्न । तर यहाँ फुटाउ र शासन गर आदिवासी जनजाति महासंघमा कांग्रेस, एमाले, एमाओवादीका मान्छे भएकैले विरोध गरेको जस्तो मात्र देखियो । तर त्यसका लागि आन्दोलन उठाउने काम भएन ।

किनभने पार्टीहरुले महासंघमा आफ्ना (कार्यकर्ता) सदस्य पठाउनु नै आन्दोलन सुस्ताउनका लागि हो । (हाम्रो गोरेटो २०७१ माघ) उपेक्षित वर्ग अधिकारको लागि मात्र पूर्णरुपमा ५ प्रतिशत सचेत हुँदा त्यस्तो छ भने १०० प्रतिशत सचेत भएमा के हुने हो ! यो शासकवर्गले राम्रो सित बुझेका छन् । आदिवासी जनजातिले खोजिएको जातिय राज्य होइन, जातिय पहिचान हो, जातिय राज्य र जातिय पहिचान फरक कुरा हो । कुनै प्रान्तको नाम मगराँत भयो भन्दैमा त्यो मगरहरुको मात्र जातिय राज्य हुन सक्दैन । मगरात भनेको प्राचिन स्थल हो जुन इतिहासमा पनि उल्लेखित छ । मगरात भनेको भौगोलिक स्थल हो, सांस्कृतिक स्थल हो, भाषिक स्थल हो ।

के अहिले “मगरात”मा सबै जात जाति मिलेर बसेका छैनन् ! यो त पहिचानको नामाकरण हो । मगरातमा बस्ने अन्य जातजातिको बराबर राजनीतिक, धार्मिक हक र अधिकार हुन्छ । ऐतिहासिक पहिचान, सांस्कृतिक÷भाषिक पहिचान तथा सरोकारको विषयमा जनमत बन्दै गएको अवस्थामा नेपालका प्रतिष्ठित मिडियाहरुले अधिकार दिन नचाहने राजावादी र विदेशी शक्तिहरु जुन जाति–जाति बीच वैश्मनता फैलाउन चाहन्छन् । त्यस्ता शक्तिहरुका (एकाधिकारवादी र संघीयता विरोधीहरुको) विचार प्रकाशित गरेर पहिचान भएको क्षेत्रलाई “जातीय राज्य” “जातीय राज्य” दिनु हुँदैन, देश टुक्रिन्छ !

जस्ता भ्रामक हल्ला गरेर नेपालका मिडियाले ‘संस्कृताईजेशन’ गरेको हामीले राम्रो सित बुझेका छौं । ‘संस्कृताईजेशन’ शब्दावली भारतीय मानव शास्त्री समाजशास्त्री एम.एन. श्रीनिवासले प्रचलनमा ल्याएको हुन् । राज्यसत्तामा बस्नेहरुले अनेक उपायअपनाएर आदिवासी जनजातिहरुको इतिहास, मातृभाषा र पहिचानलाई माईनस गर्दै आफ्नो मौलिक संस्कृतिमा परिवर्तन गराउने प्रकृया ‘संस्कृताईजन’ हो । जुन नेपालमा लामो समय देखि राज्यले अँगालेको एक नीति ‘संस्कृताईजेशन’ पनि हो । (विष्णु कुमार सिंजाली मगर – मिडिया द्वारा “सांस्कृताईजेशन”२०७१) यसको उदाहरण –२०६९ साल काठमाडौंमा नेपाल आदिवासी जनजाति महासंघका तत्कालिन महासचिव आङ्काजी शेर्पालाई पत्रकार सम्मलेन मै पत्रकारहरुले आक्रमण प्रयास गर्नुले नेपाली पत्रकारितामा जातीय अहंकार कुन तहसम्म पुगेको रहेछ भन्ने दर्शाउन्छ ।

“समाज विकासको क्रममा राज्यको शासन संचालनको बागडोर चतुर शासकहरुले आधार भुत जनताको हक हित भन्दा आफ्नो कुल, वंश, खलक प्रति निलिप्त भई शासन सत्ता जोगाउने नाममा अनेक षड्यन्त्र र छलकपटद्वारा समाजलाई कोभाजन गरियो । जसका कारण आधारभूत तहका आमजनताको नैसर्गिक हक अधिकार खोस्ने र मुठ्ठीभरका चतुरशासन खलक तथा टाठा–बाठा सम्प्रदायहरु सधै उच्च तह र वर्गमा आसिन हुँदै आएका छन् ।

खासगरी मनुस्मृति ग्रन्थको वर्णाश्रम धर्म व्यवस्थालाई मूल आधार बनाई श्रम–सीप कला, कौशलका धनी इमान्दार जनताहरुलाई शासन संचालन दायरा भन्दा बाहिर किनारा लगाउँदै दास, कमरा तथा अछुत जातिको रुपमा जबरजस्ती परिभाषित गरेको पाइन्छ ।” (राष्ट्रिय दलित आयोग पश्चिमाञ्चल क्षेत्रीय गोष्ठी–२०५९ पौष २४–२५ ‘आधार पत्र’–भैरहवा) वि.सं. १९९७ सालमा बाग्लुङ्गका भगत सर्व्जित विश्वकर्माको नेतृत्वमा हिन्दु धर्म के आधारमा दलित समुदायलाई अछुत मान्न र भेदभाव गर्न नमिल्ने जनेउ धारण गर्न र शिक्षा ग्रहण गर्न पाउनु पर्ने शसक्त तर्क अघि सार्दा जेलमा हालेर दाँत झर्दा सम्म पनि निर्मम यातना दिएर आत्मा सम्मानको साथ बाँच्न पाउने अधिकार पनि खोसिएको छर्लंग देखिन्छ । मोहन विक्रम सिंहले (चार दशक) पेजन नं. ५०४ खुलस्त रुपमा लेखेका छन् । “ब्रहामणको लागि बनेको आचरण र मापदण्ड र राणाकालमा बनेको ऐन कानुन अनुसार – रक्सी, कुखुराको मासु, लसुन, प्याज र टमाटर खानु हुँदैन्थ्यो । यी मध्ये कुनै पनि आचरण भंग गर्नेहरुलाई जातिबाट तल झारिन्थ्यो ।

त्यो मापदण्ड हेर्ने हो भने आज कति जना क्षत्री–ब्रहामणमा बाँकी रहन्छ ? उनीहरु मध्ये कति जना पानी नचल्ने जातिको रुपमा बाँकी रहन्छ ?” शाक्य मुनि गौतम बुद्धले आज भन्दा २६०० सय वर्ष अगाडी बाह्रमण र शुद्र जन्मको आधारमा होइन कर्मको आधारमा हुन्छ, सबैमा बाँच्नु पाउनु पर्ने अधिकारको सद्भाव हुनु पर्छ भनेको थिए । “जनजाति लगायतका नेपालका उत्पीडन उपेक्षित समूह आफु नेपालमा शासक जातिको दुई शताब्दी भन्दा बढीको आन्तरिक उपनिवेश र साम्राज्यवादमा परेर आफ्नै ऐतिहासिक आदि थलोमा पराधिन भएर परतन्त्रीको शासनमा बाँच्नु परेको पीडालाई व्यक्त गरिरहेका छन् ।

उनीहरु स्वतन्त्रता नेपाली शासकहरुको आक्रमणबाट हारिन पुगेको छ ।” (संजय शेरचन– नेपाली राज्य र आदिवासी जनजाति) २०४७ मंसिर ८ गते काठमाडौंको खुल्ला मंचमा नेपाल सद्भावना पार्टीका तत्कालिन अध्यक्ष गजेन्द्र नारायण सिंहले संघीयताको धारणा राख्दा उक्त सभालाई संघीयता विरोधीहरुले भौतिक आक्रमण (ढुङ्गा मुठा र कुटपीट) गरी सभालाई विथोलेका थिए । त्यस बखत संघीयताको मुद्दा उठाउनु कतिसम्म जोखिम पूर्ण थियो भन्ने दर्शाउन्छ । राष्ट्रिय जनमुक्ति पार्टीले २०४७ बैशाखमा देशभरी समानुपातिक प्रतिनिधित्वको सिद्धान्त सहित संघीयताको अवधारणा सर्वाजनिक गर्दा, संघीयता विरोधीहरुको भौतिक आक्रमण गर्न आँट त आईन तर विखण्डनकारी र साम्प्रदायिक (चुचे–थेप्चे भनेर समाज बिथोल्न खोजेको) दुष्प्रचार देशव्यापी गर्दै राजनीतिक ‘संस्कृताईजेशन’ गरेको पाईन्छ ।

प्रसिद्ध लेखक नारायण ढकालले “प्रश्नहरुको घेराबन्दी” (मंसिर २०५८÷‘गरिमा’) कथा मार्फत नेपालमा विद्यमान एक पक्षीय राजनीति र त्यसको दुस्प्रभाव बारे आफ्ना पात्रहरु मार्फत सांकेतिक रुपमा देखाउन खोजिएको छ । “म तराईको मान्छे, हजुर त पत्रकार मान्छे, तर एउटा कुरा हजुरसित सोध्न पर्छ हाम्रा तराईमा सद्भावना किन जन्मयो ? हाम्रो चाचाजी विगत दश बर्षदेखि यो बजारमा खुद्रा खुद्री व्यापार गर्छन । यिनले यो बजारमा कसैलाई हानी नोक्सानी पु¥याएको छैनन् ।

किन मेरो चाचालाई यहाँ को समाजले राम्रो आँखाले हेर्दैन ? किन हेप्छ मेरो चाचालाई उनीहरु ? तपाई यसको जबाब खोज्नुभयो भने सद्भावनाको जन्मको कारण स्पष्ट जानि लिन हुन्छ । तर त्यही प्रश्नको अर्काे जबाज हो राष्ट्रिय जनमुक्ति पार्टी ।” “उ मलाई एकदमै शत्रुवत मुद्रामा घुर्न थालेको थियो, मानो उसको चाचालाई होच्याउने प्रतिनिधि पात्र नै म हुँ ।” “अष्ट्रेलीयामा (विदेश) पढ्न जाने हाम्रो युवाहरुले सोध्न थालिसकेका छन् ।” अरे पत्रकार अंकल विदेशमा आदिवासीहरुको कत्रो सम्मान छ । हामी नेपालका आदिवासी भन्छौं, नेपाल झर्न साथ हामीलाई यहाँ त हेप्पछन् ।

खुलेआम ठगछन् । आखिर माजरा के हो ?” लाखौं मगरहरु र यहाँका अन्य भाषिक समुदायकहरुको मातृभाषा बोल्न किन बन्चित गराइयो ? हाम्रो ग्रन्थ लिपीहरु किन जलाइयो ? “घर लौरी” इतिहास जारी गरी हाम्रो पुर्खालाई जबरजस्ती अर्काको देशबाट लड्न किन पठाइयो ? शासक जातिले आफ्नो समुदायलाई किन पठाईन ? एउटै भाषा, एउटै भेष किन ? मगर दिवसमा सार्वजनिक बिदा नहुने, एक जाति विषेशलाई जनै लगाउन (पाँच मिनेट लाग्ने) बिदा दिने ! यो कहाँको न्याय संगत हो ? सदियौं देखि ‘चोमोलुङमा’ स्थानीय नाम हुँदाहुँदै पनि एउटा पत्रिकामा लेखेको भरमा वि.सं. १९९५ मा ‘सगरमाथा’ नामाकरण किन गरियो ? यी यावत प्रश्नहरु नयाँ पिढीले तेर्साईसकेका छन् ।

समयमा समाधान नभए यो विस्फोटनलाई कसैले रोकेर रोकिदैन । “टाईवनको राष्ट्रपति चाईइङवेनले औपचारिक रुपमा आफ्नो देशमा तिनीहरुलाई सदियौं सम्म गरेको दुव्र्यवहारको लागि माफी मागेकी छन् । चीनको मुख्य भूमिबाट आप्रवासीहरु ताईवनमा ४०० वर्ष अगाडी आएका थिए । कडा नीतिहरुको कारण यहाँका आदिवासी जनजातिले जग्गा माथिको पुख्र्याैली अधिकार गुमाए, आफ्नो परम्परागत जीवनशैली छोड्नु प¥यो र भाषा तथा संस्कृति पनि बिर्सनु प¥यो ।” विगत ४०० वर्ष देखि ताईवनको राज्यसत्तामा जो सुकै आए नि तिनीहरुले सैन्यबल तथा कानुन बनाएर जग्गाहरु लुटेरै पनि चलन चल्तीका आदिवासी जनजातिहरुको अधिकार हनन गरे चाईले भनिन ।” (ईसमता २०७३ साउन १९) पहिचान मेरो जातिवादी, पहिचान तिम्रो राष्ट्रवादी अधिकार मेरो राष्ट्रघात, अधिकार तिम्रो राष्ट्रवाद आवाज मेरो देशद्रोह, आवाज तिम्रो देशभक्ति हरकत मेरो आतंकवाद, हरकत तिम्रो सद्भाव अधिकार मेरो विखण्ड, अधिकार तिम्रो अखण्ड म कसरी चित्त बुझाउ, कसरी चित्त बुझाउ । आज अधिकारबाट बंचित गरिएका जातीय समुदाय अधिकार माग्ने ठाउँमा होइन अधिकार दिने ठाउँमा रहन चाहन्छन ।

अन्तरसंघर्षको शुरुवात यहीबाट शुरुहुन्छ । किनकी एकाधिकार प्राप्त शासक जाति, शासित जातिलाई अधिकार दिन चाहदैन भने शासित जातिहरु अधिकार नलिई न छाड्ने अवस्थामा छन् “आदिवासी जनजाति माथि ऐतिहासिक रुपमै अन्याय भएको छ । उनीहरुको राज्य खोसिएको छ । भाषा संस्कृति माथि आक्रमण भएको छ । तिनीहरुको इतिहास मासिएको छ । जसलाई मानव अधिकारको भाषामा जनजातीय संहार भनिन्छ । जसले क्रमश आदिवासीहरु लोपोन्मुख अवस्थामा पुग्ने खतरा बढेको छ । यो गम्भीर मानव अधिकार हनन हो, जनयुद्धको बेलामा पनि गर्न हुन । नेपालमा प्रत्येक १० वर्षमा गरिने जनगणनाले आदिवासी जनजातिको जनसंख्या अन्य समुदायको तुलनामा क्रमश घट्दै गएको देखाएको छ । यस अर्थमा दलितको भन्दा पनि दर्दनाक स्थिती छ । आदिवासी जनजातिको आज यो अवस्था आउनुको कारण उनीहरुको थातथलो खोसिएकोले आएको हो । वर्तमान परिवेशमा पहिचान सहितको संघीय राज्यको आवश्यकता छ । (शंकर लिम्बु–ईसमता २०७३ साउन २४)

देश टुक्रिन्छ जस्ता कुतर्क गर्नेहरु शायद मधेशी समुदायका जनतालाई मध्यनजर राखेर गरेको हुन सक्छ । त्यो सरासर गलत हो विखण्डनकारी होलान एक–दुई जना त्यो पहाडी, मधेशी दुबैमा हुन सक्छन् । के मेची, कोशी, महाकाली र गण्डकी बेच्नेहरु मधेशी हुन त ? आफ्ना पार्टी र व्यक्तिगत स्वार्थका लागि नदी–नाला बेच्नेहरु देशघाती नै हुन चाहे मधेशी होऊन चाहे पहाडीया । हालैमा सप्तरी जिल्लामा भारतले जबरजस्ती नेपालका सिमानाको जग्गा डुबाउने गरि बनाएको बाँधको विषयमा दुबै देशको जनता बीच झडप भयो । जब कि त्यो बाँध अन्तर्रा्ष्ट्रिय मापदण्ड विपरित बनेको देखियो । के पहाडिया प्रधानमन्त्री चु समेत बोल्न सक्यो ? सिमानाबाट जंगे पिलर धमाधम गायब हुँदा र सिमाना मिच्दा पनि बोल्न नसक्ने हाम्रा पहाडिया शासकहरु सामाजिक न्यायको लागि मधेशी जनताले गरेको आन्दोलनलाई सोझै भारत सित जोडेर हेर्न गर्छन् । जबकि प्रधानमन्त्री हुन साथ हतार–हतार सम्झौता गर्न दिल्ली पुग्छन् ।

म त भन्छु मधेशी जनता नै नेपाली सिमानाका जंगे पिलर हुन् । स्पष्ट छ नेपालको एकता होस् चाहे विखण्डन, आन्तरिक कारण नै प्रमुख र निर्णायक हुन्छ । बाहिरीलाई मौका दिनु हुँदैन । हाम्रै अगाडी राम्रा संघीय व्यवस्था छ । तर हामी नजर अन्दाज गरेका छौं –छिमेकी मुलुक भारतमा जातीय पहिचान सहित अधिकार दिएर सबै क्षेत्रमा आरक्षणको कोटा टोकेर प्रगतिको मार्गमा कहाँबाट कहाँ पुग्यो हाम्रो अगाडी छलङ्र्ग छ । गौतम बुद्ध नेपालका हामी भन्छौ तर उसको मार्ग दर्शनलाई हामी अँगाल्दैनौ । भारतका संविधान रचयीता डा. बाबा साहेव आम्बेडकरले यति ठुलो राष्ट्र, विभिन्न भाषा–भाषि त्यसमा पनि कट्टर हिन्दुवादी (वर्ण व्यवस्था)हरुलाई समेटेर संविधान बनाउन ठुलो जोखिम थियो । महामानव गौतम बुद्धको मध्यमार्गी विचारलाई अंगिकार गर्नले नै भारतको संविधान सम्भव भएको हो, आम्बेडकरले भनेका थिए । अझै उहाँले भारतीय राष्ट्रिय झण्डमा बौद्ध धर्मको चक्र र अशोक स्तम्भमा रहेका तिनवटा बाघलाई राष्ट्रिय चिह्नमा पनि लागु गराए । महात्मा गान्धीले बुद्धको अहिंसा मार्ग अपनाएर अंग्रेजलाई भारत छाड्न बाध्य गरेको हाम्रो सामु राम्रो उदाहरण छ । नेपालमा अहिले शासकीय स्वरुप र सरकारको नीति “जित्नेले सबै लिन्छ” भन्ने सिद्धान्तमा आधारित छ । महामानव गौतम बुद्धले मध्यम मार्ग “जित पनि होइन, हार पनि होइन” मध्यम मार्गको सन्देश दिएको देखिन्छ ।

गौतम बुद्धको समय समुदाय–कविलाहरुको गणराज्य युग भएको देखिन्छ । त्यस समय मित्रता भनेको ! हार जितको युग थियो, राजा, कबिला–गणराज्यहरुको मित्रता आफ्नो मतलब सिद्ध गर्ने अथवा आफुले जित्ने र अर्काे पक्षलाई हराउन प्रयोग गर्थे । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि प्रथम पटक आफ्ना पाँच जना शिष्यहरुलार्य आठ मध्यम मार्ग बताएका थिए ः– १. ठिक दृष्टि (सही, उचित वा ठिक सोच) २. ठिक सङ्कल्प (सही निर्णय) ३. ठिक वचन (सत्य बोल्ने) ४. ठिक कर्म (कर्तव्य) ५. ठिक जिविका (पेशा–सादा जीवन) ६. ठिक व्यायाम (परिश्रम, अभ्यास) ७. ठिक स्मृति (उचित सम्झना गर्नु) र ८. समाधि (चिन्तन, मनन गरेर ठिक–बेठिक अनुसन्धान गर्ने) मध्यम मार्ग भनेको ‘गितारको तार धेरै कसेमा टुट्छ ढिला गरेमा सुमधुर स्वर आउँदैन अथवा विलासी जीवन पनि नबिताउनु, अभावमा पनि नबस्नु’ भनेर बुझियो भने हाम्रो जीवन र देश शान्तिमय र सन्तुष्टमय हुन्छ ।

आधुनिक संघीय गणतन्त्रवादको भरपर्दाे वैचारिक धरातल, महान विचारक गौतम बुद्धले नै दिएका हुन् । उनले राष्ट्रलाई विकसित र अपराजित राख्न सात उपदेश दिएका छन् । १) सबै एकत्रित भएर सामुहिक निर्णय गर्नु, २) निर्णय अनुसारको कर्तव्य एक भएर पालना गर्नु, ३) व्यवस्था र कानुनको इमान्दारिताको साथ पालना गर्नु, ४) स्त्री उपर कहिल्यै पनि जर्वजस्ती नगर्नु, ५) बृद्धवृद्धाको सत्कार गर्नु, ६) शासकले शासकीय धर्मको पालना गर्नु, ७) मनुष्य सबै समान हुन विभेद र भेदभाव नगर्नु । न्यायपूर्ण समाज स्थापनाको लागि यी विचारहरु अहिले पनि उत्तिकै मननीय छन् र प्रगतिशिल र अग्रगमनकारी छन् । तर हाम्रा बुद्धिजिवी विज्ञहरु दल र नेताहरुलाई सचेत गराउनुको सट्टा, सत्ताको लाभको पदको लोभमा नेताहरुको चाकडी गरेको देखिन्छ ।

नेपाल हाल चलिरहेको संघीय प्रणालीको खिचा–तानी महामानव बुद्धको माध्यम मार्ग बहुजन हिताय बहुजन सुखाय अपनाए तुरुन्त समाधान हुने देखिन्छ । खास गरी शासकहरुले माध्यम मार्ग अपनाएर मैत्रेय सिद्धान्त “बाँच र बाँच्न देऊ” अपनाउनु पर्छ । किनकी मित्रताको सम्बन्ध समनतामा मात्रै चिर स्थायी रहन्छ । हार्ने पक्ष कमजोर छ भने त्यसले जित्नेको दासत्वलाई बाध्य भएर स्वीकार गर्छ । तर उसको मन मस्तिकमा कुण्ठ अर्थात शत्रुता भने बीजको रुपमा बसिरहन्छ । निरन्तर झगडा लडाई र युद्ध समेत हुन सक्छ । यथार्थत भनेको यही नै हो । गौतम बुद्धको मैत्रय मार्ग “जित पनि होइन, हार पनि होइन” भन्ने दर्शन अपनाएमा नेपालका सबै समुदायमा शान्ति र सन्तुष्टि हुनेछ । माक्र्सवादी सिद्धान्त अनुसार गरिव र धनी दुई विपरित तत्वको बीच सधै अन्तरविरोध रहन्छ ।

यसले आर्थिक अन्तविरोधलाई मात्र जनाउदैन बल्की यो सिद्धान्तले प्रत्येक विपरित तत्वहरु बीच अर्थात भिन्ना भिन्नै भाषा, धर्म र संस्कृति अंगिकार गरेका जातीय समुदाय बीच पनि निरन्तर अन्तर संघर्ष चलिरहेको हुन्छ । यसको मुख्य कारण समाजमा प्रभुत्व सहित एकाधिकार कायम गरेका जातीय समुदाय वा सत्तामा रहेका जातीय समुहले आफु भन्दा पृथक भाषा, धर्म वा संस्कृतिलाई अंगीकार गरेका जातीय समुहकोहित वा स्वार्थको विपरित कार्य गरेकोवा दमन गरेको कारणबाट यस्तो अन्र्त्विरोधको शुरुवात हुन्छ । केन्द्रिकृत अहंकारवादी सोचले ग्रस्त भएर एक भाषा, एक जाति, एक धर्मले मात्र राज्यमा हालीमुहाली गरी सत्ताको आडमा ब्रहमलुट गरी नवधनाढ्य एवं सर्वशक्तिमान बनेर अन्य जाति समुदायलाई रैतीको रुपमा दमन, शोषण र उत्पीडनमा अहिले पनि राख्न चाहेका त होइनन् ? विश्लेषकहरुको भनाईमा अहिलेसम्म मुलुकमा निकास ननिस्कनु यो पनि मुख्य कारक हो ।

यस खालको कार्य संघीय गणतन्त्रमा उपहास मात्र होइन अग्रगमन र विकासमा बाधक पनि हो । जातिहरुको बीच रहेको अन्र्त्विरोध र अन्तरसंघर्षलाई समाधान गर्ने एकमात्र उपाय वा बाटो पीडितहरुलाई ससम्मान अधिकार दिनु हो । सबै नागरिकहरुमा ‘हाम्रो नेपाल’ र राष्ट्रियताको भावना ल्याउनु हो । तर यहाँके चलिराखे छ भने एक दुई जना चतुर टाउकेलाई पद दिएर, हल्ला फैलाएर, सारा अधिकार विहिनलाई अधिकार दिएछु ! भन्ने ट्रेडमार्क चलेछ ।

सबै जात–जातिलाई समान रुपमा ल्याउन आरक्षण सहित सूचिमा आधारित जातीय जनसंख्याको समानुपातिक निर्वाचन प्रणाली अपनाएमा सबै जात–जातिहरुको आ–आफ्ना जातीय जनसंख्याको समानुपातिक (प्रतिशत) आधारमा न्यायोचित प्रतिनिधित्व हुन सक्छ । तर यो समानुपातिक व्यवस्था राज्य संचालनमा मात्र सीमित नराखी शिक्षा, रोजगार, व्यवसाय र सरकारी सेवामा (आरक्षण) ऐन सुविधा समेत लागु गर्नु पर्दछ । यो व्यवस्थाले एक जाति वा समुदाय विशेषको एकाधिकारलाई समाप्त गर्दछ । वास्तवमा समानुपातिक सिद्धान्त विविध जातिहरु बीच सम्झौता हो र यसले आपसी सद्भाव कायम गरी नेपालमा “बाँच र बाँच्न देऊ”को सिद्धान्त साकार हुन्छ । नेपालको महान विचारक गौतम बुद्धको मध्यम मार्ग दर्शन भनेको यही नै हो ।
प्रकाशन्मुख पुस्तक “बाँच र बाँच्न देऊ”बाट