
बुटवल, १ पुस । एकिकृत गुरुयोजनाको अभावमा तिलोत्तमा नगरपालिकाले बिकासमा गति लिन नसकेको सरोकारवालाहरुले बताएका छन् ।
तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा मंगलापुरमा जारी औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवद्र्धन महोत्सवका अवसरमा आज मेलास्थलमा आयोजित तिलोत्तमा नगरको बिकास सम्भावना र चुनौति बिषयक गोष्ठिका सहभागिले तत्काल गुरु योजना तयार गरी नगरलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेलले सबै राजनीतिक दल र संघ सस्थाहरुसंगको समन्वयमा छिट्टै गुरुयोजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले धेरै गाउ बिकास समितिहरु मिलेर नगरपालिका बनेकाले सबैसंग समन्वय गर्न कठिनाई भएपनि अव नगरपालिका योजनाबद्ध रुपमा अघि बढ्ने बताउनु भयो ।
तिलोत्तमा नगर बिकास समितिका अध्यक्ष कृष्णबहादुर गौतमले बजेट अभावमा नगर बिकास समितिले काम गर्न नसकेपनि आफ्नै पहलमा यातायात गुरुयोजना बनेको र अव गुरुयोजना बनाउन सबैले पहल र सहयोग गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. बाबुराम ज्ञवालीले रुपन्देहीको मध्ये भागमा रहेको तिलोत्तमा नगरपालिकामा उद्योग, व्यापार, कृषि एवं पर्यटन बिकासको प्रयाप्त सम्भावना रहेको उल्लेख गर्दै यसको लाभ योजनाबद्ध बिकासबाट मात्र सम्भव रहेको बताउनु भयो ।
त्यस्तै बरिष्ठ इञ्जिनियर शंकर पण्डितले तिलोत्तमा नगरपालिकामा प्राकृतिक श्रोत र साधन अत्यधिक रहेको र प्राबिधिक रुपमा पनि निकै सम्भावना बोकेकाले जग्गामा भईरहेको प्लटिगंलाई तत्काल रोकी व्यवस्थित शहर बनाउनुपर्ने धारणा राख्नुभयो ।
संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)को सभापतित्वमा सम्पन्न कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष दीपक पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य नवराज श्रेष्ठ, समाजशास्त्री मोहनराज शर्मा, नेपाली काँग्रेसका महासमिति सदस्य तथा संघका सल्लाहकार कृष्ण पौडेल, नेकपा मालेका टिकानिधी गौतम, अखण्ड नेपाल पार्टीका लिला बहादुर क्षेत्री, खानेपानी महासंघका अधयक्ष धुवकुमार धिताल, संघका महासचिव माधवलाल देवकोटा, कार्यक्रम संयोजक सुरज पंगेनी लगायतले बोल्नु भएको थियो ।