
रामपुर (पाल्पा), २ पुस । शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, ‘पर्यटन र उद्योग विकासको पूर्वाधार रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नाराका साथ प्रथम रामपुर महोत्सव तथा व्यापार मेला २०७३ हुने भएको छ ।
रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको सो प्रथम रामपुर महोत्सव यही आउँदो पुष २७ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा १० करोड बराबरको कारोबार गर्ने, दुई लाख बराबर दर्शक भित्र्याउने लक्ष्य रहेको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो ।
महोत्सवमा अटो मोबाइल्स र होटल रेस्टुरेन्ट बाहेक २०० वटा स्टल रहनेछन् । कृषिजन्य वस्तुको प्रवद्र्धन र रामपुर क्षेत्रको व्यापार व्यवसाय बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो । रासस