बुटवल, २ पुस । करहिया सामुदायिक वन उपभोक्ता समूहको सत्रौं साधारण सभा तथा अधिवेशन कार्यक्रम आज तिलोत्तमा नगरपालिका ११, दीपनगरमा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन सत्रका वक्ताहरूले वन समितिबाट भएका काम उत्साहजनक रहेको र आगामी दिनमा दिगो विकासका रणनीति समेत तीव्र कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।समूहका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरूः हरिलाल पाण्डे, कृष्णप्रसाद पौडेल, यज्ञ गैरे, लक्ष्मण खनाल लगायत दिगो तथा उदाहरणीय विकासमा जोड दिनुभएको थियो ।
वन समूहका पूर्व अध्यक्ष राजेन्द्र खाँणको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबीच ८ वटा सामुदायिक विद्यालयका १६ जना छात्र÷छात्रालाई जनही २ हजार रूपियाँका दरले छात्रवृत्ति प्रदान गरिएको थियो भने करहिया प्राथमिक स्वास्थ्य केन्द्रका लागि १ थान रेफ्रिजरेटर (फ्रिज) हस्तान्तरण गरिएको थियो ।
साधारण सभाले अध्यक्षको प्रतिवेदन, लेखा संयोजक निरञ्जन पराजुलीको प्रतिवेदन तथा कोषाध्यक्ष गम्मरसिहं गुरूङ्को आय–व्यय विवरण सर्वसम्मत रूपमा पारित गरेको समितिका सदस्य स्वयंबन्धु कार्कीले जानकारी दिनुभयो ।
वन समूहका सचिव कृष्णबहादुर अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष रेशमबहादुर रोकाहा, शंकरनगर वन समूहका सह–सचिव इन्दु थापा, परिषद् सदस्यहरू गीता पाण्डे र कृष्ण भुसालले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समूहको अधिवेशनका लागि निर्वाचन समिति गठन भएको र परिषद् सदस्य निर्वाचित गरी नयाँ कार्यसमिति चयन हुने सदस्य केशव अर्यालले जानकारी दिनुभयो ।