‘एएनडी च्याम्प’सफल बनाउने प्रतिवद्धता

1.3K

‘एएनडी च्याम्प’सफल बनाउने प्रतिवद्धता

and-champ

बुटवल, २ पुस ।  चारलाख रुपैयां नगद पुरस्कार राशिको राष्ट्रव्यापी नृत्य प्रतियोगिता ‘अल नेपाल डान्स च्याम्पियनसीप (एएनडी च्याम्प) लाई सफल बनाउन सबैले भूमिका खेल्नुपर्ने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।

यो प्रतियोगिता नेपालकै ठूलो र भब्य कार्यक्रम भएकाले यसको सफलताले बुटवलको गरिमालाई उचो बनाउने हुंदा सबैको सहयोगको खांचो उनीहरुले औंल्याएका हुन् । करिब ५० लाख रुपैयां धनराशी खर्च हुने यो प्रतियोगिता बागेश्वरी संगीतालय बुटवलको आयोजनामा संचालन भएको हो । यो प्रतियोगितामा नो भोट र नो एसएमएस प्रावधान रहेकाले क्षमता भएका प्रतिभाले नै उपाधि चुम्न सक्छन् ।

प्रतियोगिताबारे बागेश्वरी संगीतालयले शनिबार गरेको छलफल कार्यक्रममा बोल्दै सिद्धार्थ पब्लिकेसन्स प्रालिकाका अध्यक्ष एमबी विश्वकर्माले अधिकांश प्रतियोगिताहरुमा एसएमएस भोटिङ वा टिकटका माध्यमबाट भोट गरेर नजिता निकाल्ने हुंदा जसले बढी पैसा खर्च गर्छ उसैले उपाधि जित्ने तर कला÷क्षमता हुंदाहुंदै पनि गरीब परिवारका प्रतियोगी सधैं पछाडि पर्ने परिपाटीलाई यो प्रतियोगिताले अन्त्य गरेर समाजमा राम्रो सन्देश दिएको बताए ।

यो प्रतियोगिता चानचुने नभई देशकै लागि गर्व गर्न लायक प्रतियोगिता भएकाले यसलाई सफल बनाउन सबैले सक्दो सहयोग गर्नुपर्नेमा उनले जोड दिए । रुपन्देही ब्यापार संघका अध्यक्ष मोतिलाल पाण्डेले यो प्रतियोगिता धेरै स्तरीय भएपनि यसको महत्वबारे अझै प्रचारप्रसार कम भएको औंल्याउंदै संघको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

नेपाल राष्ट्रिय उद्योग बयापार संगठन बुटवलका अध्यक्ष खेम श्रीसले यो प्रतियोगिताले बागेश्वरीको नभई बुटवलको नामलाई राष्ट्रियस्तरमा उचो बनाएको उल्लेख गर्दै उद्योगी व्यवसायीले यसलाई सफल बनाउन यथासक्य सहयोग गर्नु दायित्व हुने बताए । सुनचांदी व्यवसायी संघ बुटवलका पुर्व अध्यक्ष किशोर सेन्चुरीले बागेश्वरी संगीतालयले कला संस्कृतिको संरक्षण र विकास एवं प्रतिभा प्रष्फुटनका लागि गरेको राष्ट्रियस्तरको यो प्रतियोगितालाई मन खोलेर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतियोगिताका निर्णायक प्रख्यात नृत्य कोरियोग्राफर बिजु पार्कीले यो प्रतियोगिता नेपालमा अहिलेसम्मकै स्वच्छ÷निष्पक्ष निर्णय हुने स्तरीय र भब्य कार्यक्रम भएको बताए । उनले यति ठूलो कार्यक्रम आयोजना गरेकामा संगीतालयको सराहना गरे ।

कार्यक्रममा मिर्मिरे युवा क्लबका अध्यक्ष इश्वर गुरुङ, नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दीपक ज्ञवाली, बुद्ध टेलिभिजनका कार्यकारी प्रमुख विष्णु भुसाल, पत्रकार माधव नेपाल, दिनेश पाण्डे, टोपराज शर्मा, अमृता अनमोल, सुमन श्रेष्ठ, सीपी खनाल, व्यवसायी किशोर गौतम, लगायतले धारणा राख्दै  आआफ्नो ठाउंबाट सहयोग गर्ने बताए ।

यस्तै रोटरी क्लब अफ बुटवल डाउनटाउनकाका अध्यक्ष राजेन्द्र ढकाल, लायन्स क्लब अफ मायादेवीकी अध्यक्ष सुलोचना श्रेष्ठ लगायतले पनि प्रतियोगिता सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।  स्थानीयस्तरमा रहेका नृत्य प्रतिभालाई उनीहरुको क्षमता  प्रष्फुटन गराई राष्ट्रिय–अन्तराष्ट्रियस्तरमा स्थापित हुने अवसर प्रदान गर्ने उद्देश्यले  प्रतियोगिता आयोजना गरिएको संगीतालयका प्रिन्सिपल सुरेश सेन्चुरी बताउंछन् ।

प्रतियोगितामा १४ वर्षसम्मका बालबालिकाले जुनियर र १५ देखि ३५ वर्ष उमेर समूहका युवा–युवतीले सिनियर समूहमा प्रतिश्पर्धा गरेका छन् । दुवै विधाका विजेताले दुई लाख रुपैयाका दरले नगद पुरस्कार र मुम्बइमा ३ महिना निःशुल्क डान्स कोर्ष सिक्ने मौका पाउने प्रतियोगिताका क्रियटिभ डाइरेक्टर यम पुनले बताए ।

देशका विभिन्न स्थानमा लिइएको अडिसनबाट ३ सय ६१ जनाले भाग लिएको प्रतियोगितामा १३२ जना जुनियर र १४४ जना सिनियर गरी २ सय ७६ जना दोस्रो चरणका लागि छनोट भएका थिए ।  ती मध्येबाट तेस्रो चरणबाट १० जना जुनियर र १२ जना सिनियर गरी २२ जना फाइनल प्रतिस्पस्धाका लागि छनोट भएका छन् ।

माघ १ गते बुटवलमै राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसंगै फाइनल हुनेछ । फाइनलमा भारतका सबैभन्दा  चर्चित र प्रख्यात नृत्य कोरियोग्राफर÷निर्णायक ट्यारेन्स लुइस मुख्य निर्णायकको रुपमा उपस्थित हुनेछन् ।  ट्यारेन्स डिआईडी जस्ता चर्चित रियालिटी शोका मुख्य निर्णायक हुन् । उनी नेपालमा निर्णायकको रुपमा आउन लागेको पहिलोपटक हो ।  विजेता जुनियर र सिनीयर च्याम्पीयनसिप दुबैजनाले ट्यारेन्सको मुम्बईमा रहेको नृत्य प्रशिक्षण स्कुलमा तीन महिना तालिम पाउनेछन् ।