यातायात क्षेत्रका समस्या सम्बोधन नभएको व्यवसायीको गुनासो

1.3K

यातायात क्षेत्रका समस्या सम्बोधन नभएको व्यवसायीको गुनासो

यातायात मन्त्रालय गठन गर्न माग
बुटवल, ४ पुस । सरकार र राजनीतिक दलका नेताहरुले यातायात क्षेत्रका समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै सरोकारवाला व्यवसायीले गुनासो गरेका छन् । यातायात क्षेत्रका समस्याप्रति पटकपटक लिखित र मौखिक जानकारी गराउँदा पनि सरकारले यस बिषयमा कुनै चासो नदिएकाले यातायात व्यवसायीले समस्या भोग्नु परेको उनीहरुको गुनासो छ ।

सोमबार आयोजित पश्चिमाञ्चल यातायात व्यवसायी समितिको १७ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन उद्घाटन कार्यक्रममा बोल्ने यातायात संवद्ध ब्यवसायीहरुले यातायात व्यवसायीले तिरेको करले देश चलेपनि व्यवसायीका समस्याप्रति सरकार बेखवर बनेको बताए । उनीहरुले नेपाली ट्रक ब्यवसायीहरुले सरकारले निर्धारण गरेको भाडासमेत लिन नपाईरहेको अवस्थामा निर्वाध रुपमा सञ्चालन भैरहेका ओभरलोड भारतीय ट्रकहरुलाई रोक्नु पर्ने माग गरे । उनीहरुले सडक दुर्घटना न्यूनीकरणका लागि सबै व्यवसायी संघसंस्थाहरु एकतावद्व भएर लाग्नुपर्नेमा समेत जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले यातायात क्षेत्रको समस्यालाई निराकरण गर्न छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहांले सरकारले यातायात क्षेत्रका समस्याहरुलाई पहिचान गर्न नसकेकाले छुट्टै यातायात मन्त्रालय गठन गरेर समाधानका उपायहरु खोज्न जरुरी रहेको बताउनुभयो । अध्यक्ष रानाभाटले नीजि क्षेत्रको लगानीबाट चलेको यातायात क्षेत्रका समस्यालाई समाधान नगरेसम्म सहज रुपमा देश चल्न नसक्ने दावी गर्नुभयो । उहांले भारतीय ट्रकसंग प्रतिष्प्रधा गर्न नसकिने बताउंदै निर्वाध रुपमा ओभरलोड बोकेर आउने ट्रकलाई सरकारले नियन्त्रण गर्नुपर्ने उल्लेख गर्नुभयो ।

लुम्विनी अञ्चल  प्रहरी प्रमुख शेरबहादुर वस्नेतले ब्यवसायीका हक हित र सुरक्षाका लागि रुपन्देही प्रहरी प्रतिवद्व रहेको बताउनुभयो ।
नेपाल ट्रक यातायात ब्यवसायी महासंघका निःवर्तमान अध्यक्ष माधव अधिकारीले कुन गाडी कुन सडकमा चल्न उपयुक्त छ भन्ने मापदण्ड तय गरेर मात्र सरकारले रुट परमिट दिने व्यवस्था मिलाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो । महासंघका महासचिव राजेन्द्रकुमार श्रेष्ठले सरकारले ल्याएको स्थापित र विस्थापितको नीतिलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदी, नेपाली काँगे्रसका महासमिति सदस्य प्रेम खरेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर के.सी, पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भिमबहादुर थापा (भरत), नारायणी यातायात व्यवसायी समितिका अध्यक्ष वद्री चौलागाईं, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेल, नेकपा एमाले यातायात विभाग प्रमुख कुुमार थापा, जिफन्टका ५ नम्वर प्रदेश सचिव हरि कार्की, नेपाल यातायात मजदुर संघका पश्चिमान्चल अध्यक्ष कृष्णप्रसाद वेलवासे लगायतले यातायात ब्यवसायीले भोग्नु परेका समस्या समाधानमा सहयोग गर्ने वताउंदै यसका लागि सवै ब्यवसायी एकजुट भएर लाग्नुपर्ने वताउनु भयो ।

समितिका अध्यक्ष लोकराज पोखरेलको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष यमप्रसाद पाण्डेको स्वागत र महासचिव टिकाराम गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।