
देवदह, ५ पुस । नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले सविधान संशोधन विरुद्धको आन्दोलनको नेतृत्व गर्नुका कारण युवा संघ नेपालका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गराएको हुन सक्ने बताउनु भएको छ ।
युवा संघका जिल्ला अध्यक्ष तिवारीको देवदहको खैरेनीमा हिजो गोली लागेर मृत्यु भएको थियो । उहाले तिवारीको हत्या सरकार र प्रशासनको संरक्षणमा हुन सक्ने भन्दै अपराधीलाई कानुनी कठघरामा उभ्याएर छाड्ने दावी गर्नु भयो ।
नेता पौडेलले अपराधी खोज्ने काम राज्यको भएकोले तिवारीको हत्यामा संलग्न अपराधीलाई तत्काल पक्राउ गरि कानुनी कार्वाही गर्न माग गर्नु भयो । देवदहको खैरेनीमा भएको कोणसभामा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । सरकारले आन्दोलनलाई गुमराहमा राख्नको लागि विज्ञानराज शर्माको नेतृत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको भन्दै छानविन समितिले यर्थाथ र निष्पक्ष रुपमा छानविन गर्नुपर्नेमा जोड दिनु भयो ।
तिवारीको हत्याले पार्टीको एउटा होनहार कार्यकर्ता गुमाएको बताउदै अपराधीलाई पक्राउ गर्न पार्टीले सरकारलाई दवाव दिने बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै अर्का उपमहासचिव धनश्याम भुसालले हत्यारा पत्ता नलगाई पार्टीले नछाड्ने दावी गर्नु भयो । उहाले अपराधी जो सुकै भएपनि कठघरामा उभ्याएर छाड्ने दावी गर्दै हत्यारालाई पक्राउ गर्न सम्पूर्ण आम नागरिकले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
यसैवीच दुर्गा तिवारीको हत्याको विरुद्धमा रुपन्देहीको देवदहमा नारा जुलुस सहित प्रदर्शन गरिएको छ । ¥यालीले देवदह क्षेत्रको विभिन्न भागको परिक्रमा गरी खैरेनी चोकमा कोणसभामा परिणत भएको थियो । ¥यालीमा पार्टीका नेता, कार्यकर्ता, स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।