संघीयताको विरुद्ध लाग्ने मगरलाई कारवाही हुने

1.3K

संघीयताको विरुद्ध लाग्ने मगरलाई कारवाही हुने

मगरात भेलामा रुपन्देहीबाट ५० बस जाने
बुटवल, ७ पुस । नेपाल मगर संघ बुटवल उपमहानगरपालिका समिति, बुटवलले भोलि पुस  ८ गते पाल्पाको तानसेनमा हुंने मगरांत सभामा ११ वटा बसमा जनमानस उतार्ने भएको छ ।

संघको आज बुटवलमा भएको बृहत मगरहरुको भेलाले सभामा नगरबाट ११ वटा बस परिचालन गरि जनमानस उतार्ने निर्णय गरेको हो । नेपाल मगर संघ केन्द्रीय समितिले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनको पक्षमा तानसेनमा मगरांत सभाको आयोजना गरेको हो ।

सभामा रुपन्देही जिल्लाबाट ५० वटा बस परिचालन गरि जनमानस उतार्ने संघले जनाएको छ । आज बुटवलमा सम्पन्न भएको बृहत भेलामा बोल्ने मगर अगुवाहरुले मगरांत, पहिचान र संघीयताको विरुद्ध लाग्ने मगरहरुलाई पहिचान गरि सचेत गराउंने र नमान्नेलाई कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले मगरांत, पहिचान र संघीयता विरोधी भएकै कारणले एमालेले जनजाति महासंघबाट हात धुनुपरेको आरोप पनि लगाएका छन् । भेलामा संघका सल्लाहकार भोजबहादुर बुढाथोकीमगर, क्या.जनक थापामगर, प्रेस सल्लाहकार टेकबहादुर मास्कीराना, मधु रानामगर लगायतले बोल्नु भएको थियो ।

भेला संघका अध्यक्ष गोपाल चौहानमगरको अध्यक्षता, सचिव थर्कबहादुर बाह्रघरेमगरको सञ्चालन तथा उपाध्यक्ष बसन्ती साठीघरेमगरको स्वागतमा सम्पन्न भएको थियो । तानसेनमा हुंने सभालाई नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयका नवनिर्वाचित अध्यक्ष जगत बराम, महासचिव नित्यानन्द ताजपुरिया, मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोकामगर लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

संघले संशोधनको समर्थनमा देशभर सभा गदैं आइरहेको छ ।