
१५ करोडको आर्थिक कारोवार गर्ने लक्ष्य
बुटवल, ७ पुस । बुटवल उद्योग बाणिज्य संघको आयोजनामा भोलि शुक्रवारदेखि बुटवलमा औद्योगिक व्यापार मेला २०७३ हुँदैछ । २०१० सालमा स्थापित बुटवल उद्योग बाणिज्य संघले यस अंघि १६ वटा औद्योगिक व्यापार मेला सफलताका साथ सम्पन्न गरिसकेको र यो १७ औं संस्करणलाई पनि अँघिल्ला मेला भन्दा अझै बिशिष्टिकृत रुपमा गर्न लागिएको संघका अध्यक्ष तथा मेला कार्य सम्पादन समितिका संयोजक महेशमान सिंहले बताउनु भयो ।
‘लगानी लुम्बिनीमा समृद्धि देशमा’ भन्ने मुल नाराका साथ गर्न लागिएको मेलामा देश बिदेशका गरि ५ सय ५० स्टल सहभागि हुने र मेला अवधी भरमा ५ लाख दर्शकले अवलोकन गर्ने तथा १५ करोडको कारोवार गर्ने लक्ष्य लिईएको आज मेला सचिवालयमा पत्रकार सम्मेलन गरि संघले जानकारी गराएको हो ।
बुटवल १२ रामनगर स्थित बुटवल मण्डपमा यहि पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा करिव २५ वटा अन्तर्राष्ट्रिय उत्पादनका स्टल रहने र तराईदेखि हिमालसम्म ३५ जिल्लामा उत्पादित बस्तुको प्रवद्र्धन गरिने अध्यक्ष सिंहले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । मेलामा श्रीलङ्का, बंगलादेश, पाकिस्तान तथा भारतका उत्पादनहरु राखिने छ ।
उद्योगी उद्योगी तथा उद्योगी र उपभोक्ता बिच समन्यन गराउने र उद्योगबाट उत्पादित बस्तुको प्रवद्र्धन गर्ने मेलाको प्रमुख उद्देश्य रहेको उहाँले बताउनु भयो । मेलामा नेपाल भित्रका औद्योगिक व्यापारिक तथा सेवा प्रदायक प्रतिष्ठानहरु, छिमेकी मित्रराष्ट्रका औद्योगिक व्यापारिक प्रतिष्ठानहरु, उद्योग बाणिज्य क्षेत्रमा सेवा प्रदायक संघसंस्था तथा सरकारी निकायहरु सहभागि हुनेछन् । कृषि, अटो, व्यूटि प्रोडक्ट, सूचना प्रविधी, होटल रेष्टुरेन्ट, जुत्ता चप्पल, फर्निचर, गार्मेन, हस्तकला, फाष्टफूड तथा सेवामुलक लगायतलाई छुट्टाछुट्टै १३ वटा पेभिलियनमा राख्ने व्यबस्था मिलाईएको छ ।
मेलामा उद्यमशिलता बिकास गर्दै लगानीका सम्भाव्य क्षेत्रहरु पहिचान गर्ने र लगानी प्रवद्र्धन गर्ने खालका कार्यक्रम सञ्चालन गरिने छ । मेला भित्रै रोजगार मेला, पर्यटन तथा नयाँ प्रतिभाहरुलाई प्रवद्र्धनात्मक लगायतका कार्यक्रम सञ्चालन गरिने छ । १६ दिनसम्म सञ्चालन हुने मेलामा नयाँ गायन प्रतिभाकालागि भ्वाईस अफ बुटवल, गृहिणी महिलाकालागि ममी डान्स, राष्ट्रिय स्तरको लोक दोहारी गीत लगायतका प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिने छ ।
मेलाको रक्षा मन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । यो मेला बुटवलकै गौरव पनि भएकाले यसलाई व्यबधान रहित रुपमा सम्पन्न गर्न सहयोग गर्न संघका पूर्व अध्यक्ष एवं सल्लाहकार जीवनप्रसाद ओझा र अर्जुनमान सैजु, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसीले राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो ।
मेलाको प्रचारप्रसारकालागि भोलि बिहान बुटवलमा प्रचारात्मक मोटरसाईकल ¥याली गर्ने तयारी मेला सचिवालयले गरेको प्रचार प्रसार समितिका संयोजक बिमलराज भट्टराईले बताउनु भयो ।

टिकटको साढे ४ रुपैंया सामाजिक काममा
बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेला–२०७३ मा प्रत्येक टिकटबाट करिव साढे ४ रुपैंया सामाजिक काममा लगानी गरिने संघले जनाएको छ ।
संघका कार्यसमिति सदस्य तथा मेला टिकट व्यबस्थापन उपसमिति संयोजक नरिश्वर शर्मा पौडेलका अनुसार मेलामा बिक्री हुने प्रत्येक टिकटबाट शिक्षामा एक रुपैंया, स्वास्थ्यमा एक रुपैंया, पर्यटनमा ५० रुपैंया, खेलकुँदमा ५० रुपैंया र बुटवल उपमहानगरपालिकाको नगर हरियाली कार्यक्रमकालागि १० प्रतिशत रकम छुट्याईएको छ । मेलामा प्रवेशकालागि ५० रुपैंयाँ र बिद्यार्थीकालागि ३० रुपैंया (परिचयपत्र अनिवार्य) टिकट शुल्क निर्धारण गरिएको छ ।
संघले आयोजना गरेको मेलामा जीतगढीलाई विशेष महत्वका साथ उठाईएको छ । नेपाल अंग्रेज युद्धमा अंग्रेजलाई पराजित गरेको जीतगढी किल्लाको संरक्षण तथा प्रवद्र्धनकै लागि मेलाको मुलद्वार जीतगढी किल्लाको प्रतिमुर्ति निर्माण गरिएको छ । जीतगढीको संरक्षणकालागि सबै पक्षबाट बुटवल उद्योग बाणिज्य संघलाई संरक्षक बन्न प्रस्ताव आएको र मेला लगत्तै जीतगढीको बारेमा छलफल र बहस चलाउने संघका अध्यक्ष महेशमान सिंहले बताउनु भयो ।
संघले सञ्चालन गरेको यस अँगाडीको औद्योगिक व्यापार मेलामा पनि जीतगढी किल्लालाई नै मेलाको प्रवेशद्वार बनाएको थियो । जीतगढी किल्लालाई बुटवलको ब्राण्ड बनाउनकालागि संघले गर्ने हरेक औद्योगिक व्यापार मेलामा समावेश गर्ने निर्णय भएको संघका महासचिव हरिप्रसाद अर्यालले बताउनु भयो ।
संघले यस अँगाडी पनि शिक्षा स्वास्थ्य लगायतका सामाजिक काममा लगानी गर्दै आएको छ । बुटवलको बुटवल माध्यमिक विद्यालय, बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, लुम्बिनी अञ्चल अस्पताल, आम्दा अस्पताल लगायतमा भौतिक पूर्वाधार बिकासमा बिकासमा योगदान संघले लगानी गरिसकेको छ ।