लगानीको वातावरण बनाईदिन सरकारलाई आग्रह
बुटवल, ८ पुस । रक्षा मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्राप्त उपलब्धिलाई गुम्न नदिनेगरी राजनीति गर्न सबैलाई आग्रह गर्नुभएको छ । अहिलेको पहिलो आवश्यकता जारी संविधान रक्षा र कार्यान्वयन भएकाले संविधान कार्यान्वयनको बाटोमा आउन उहाँले आग्रह गर्नुभएको हो ।
संविधान कार्यान्वयनकालागि अहिले राष्ट्रिय सहमतिको खाँचो रहेको बताउँदै राष्ट्रिय सहमति नबन्दा सम्म संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अँगाडी बढाउन नहुने बिचार समेत व्यक्त गर्नुभएको छ । ‘मुलुकमा अहिले एक मधेश एक प्रदेश बनाउने गतिबिधि पनि बढेको छ, मुलुक भित्रै देशलाई खण्डित गर्ने गतिबिधि पनि चलेका छन् ।’ रक्षा मन्त्री खाँणले भन्नुभयो–‘प्राप्त उपलब्धीलाई रक्षा गर्ने सरकारको प्रयत्न हो ।’ उहाँले मुलुकको हितकालागि पनि प्रतिपक्षि दललाई संसदीय प्रकृया अवरुद्ध नगर्न आग्रह गर्नुभयो ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आज देखि बुटवलमा सुरु भएको औद्योगिक व्यापार मेला–२०७३ को उद्घाटन गर्दै बिभिन्न बहानामा बन्द गराएर उद्योगी व्याबसायीलाई धराशायी नबनाउन आग्रह गर्नुभयो । उहाँले राष्ट्रियता र जनजीविकालाई दुबै पाटोबाट हेर्न आग्रह गर्दै हरेक नेपालीको राष्ट्रियता माथि कसैले पनि राजनीति गर्न नहुने बताउनु भयो ।

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई छुट्याउने गरी संसदमा दर्ता भएको संशोधन प्रस्तावको पक्षमा आफू नरहे पनि प्राप्त उपलब्धि रक्षाकालागि संशोधन प्रस्ताव बाध्यकारी भएको बताउनु भयो । ‘तपाईहरुले जे कुरा उठाईरहनु भएको छ, मैले पनि त्यही कुरा उठाईरहेको छु ।’ उहाँले भन्नुभयो–‘यत्ति फरक हो, तपाईहरु सडकमा हुनुहुन्छ म सरकारमा छु ।’ उहाँले संविधानमा राष्ट्रिय अखण्डता र सार्वभौम सत्ता बाहेक सबै कुरा परिवर्तन गर्न सकिने बताउनु भयो ।
पछिल्लो समयमा पूर्व राजा फर्काउनकालागि केही खेलहरु सुरु भएको तर्फ ईङ्गित गर्दै रक्षा मन्त्री खाँणले राजा र राजतन्त्र कुनै पनि हालतमा कुनै पनि बहानामा फर्किन नसक्ने दावी गर्नुभयो । त्यस्तै सांसद तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले प्रमुख प्रतिपक्षी दल एमाललेले संसद अवरुद्ध गरेर बिधिको शासन विपरित काम गरेको टिप्पणी गर्दै संसदबाट निकास खोज्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले मुलुकमा लगानीको वातावरण राम्रो भए नीजि क्षेत्र लगानीकालागि तयार रहेको बताउनु भएको छ । मुलुक भित्र लगानीका सम्भावनाहरु प्रसस्तै भएपनि लगानीको वातावरण नहुँदा नीजि क्षेत्रले लगानी गर्न नसकिरहेको बताउँदै लगानीकालागि सरकारलाई वातावरण बनाईदिन आग्रह गर्नुभएको हो । ‘लगानी गर्न तयार छौं ।’ उहाँले भन्नुभयो–‘अनुदान होईन, वातावरण बनाईदिनुहोस् ।’
मुलुकको आर्थिक समृद्धिकालागि आर्थिक परिचालन आवश्यक रहेको बताउँदै उहाँले लगानीको राम्रो वतावरण भए नीजि क्षेत्र त्यो भूमिका खेल्न तयार रहेको पनि बताउनु भयो । यो कुरामा सरकारलाई गम्भिर हुन उहाँले आग्रह गर्नुभयो । त्यस्तै महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र शेखर गोल्छाले बन्द हड्ताल आर्थिक बिकासको बाधक रहको बताउँदै राजनीतिक दलहरुले आर्थिक बिकासकालागि न्यूनतम एजेण्डामा सहमति गर्न आग्रह गर्नुभयो । उहाँहरुले मुलुकको अर्थतन्त्र अत्यन्तै कमजोर अवस्थामा कछुवा गतिमा अँगाडी बढीरहेकाले यसलाई गतिशिल बनाउनकालागि बन्द हड्ताल अन्त्यकालागि माग गर्नुभयो ।

बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहले मोतिपुर औद्योगिक क्षेत्र निर्माणको काम तिव्र गतिमा गर्न, लुम्बिनी एकिकृत बिकासको योजनालाई मूर्तरुप दिन सरकारलाई आग्रह गर्दै ऐतिहासिक जीतगढी किल्ला, आदिमानव रामापिथेकस यस क्षेत्रको पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने अभियानमा संघ लागिपरेको बताउनु भयो । त्यस्तै उहाँले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुलाई एकिकृत बिकासमा जोड दिनुभयो ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपाने, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, बुटवल उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठ, पश्चिम नेपाल वस व्यवसायी संघका अध्यक्ष दधिराम खरेल, माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य रामप्रसाद वञ्जाडे, नेकपा एमालेका ऋषिराम पाण्डे, नेकपा (माओवादी)का रुपन्देही सेक्रेटरी शरद वली, संघका वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमाल, महासचिव हरिप्रसाद अर्याल लगायतले तराई र पहाडको सम्बन्धलाई टुक्राउने षड्यन्त्रलाई रोक्नका लागि पहल गर्न रक्षा मन्त्री खांणलाई आग्रह गरेका थिए ।
‘लगानी लुम्बिनीमा, सम्बृद्धि देशमा’ भन्ने नाराका साथ यहि पुसको २३ गतेसम्म सञ्चालन हुने मेलामा ५ सय ५० स्टल सहभागि छन् ।