
बुटवल, ९ पुस । आदिवासी जनजाति पत्रकार मञ्च, नेपाल–रुपन्देहीले भोली बुटवलमा तमु समुदायको महान पर्व ल्होसारको अवसरमा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया गर्ने भएको छ ।
तमु छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, रुपन्देही र तमु प्येलु संघले ल्होसार पर्वलाई आ–आफ्नैं तरिकाले मनाइरहेको अवस्थामा कसरी उक्त पर्वलाई एकै ठाउंमा मनाउन सकिन्छ भनेर बहस गर्नका लागि अन्तरक्रिया कार्यक्रम राखिएको मञ्चले जनाएको छ ।
कार्यक्रमको आवश्यक तयारी पुरा भएको मञ्चका अध्यक्ष टेकबहादुर मास्कीरानाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय उपाध्यक्ष माया गुरुङ तथा तमु प्येलु संघका केन्द्रीय सदस्य क्या.दुतबहादुर गुरुङ प्रमुख वक्ताका रुपमा रहनु भएको छ भने नेपाल आदिवासी जनजाति महासंघ, रुपन्देहीका कार्यवाहक अध्यक्ष बिमला गुरुङ, परिषद्का जिल्ला अध्यक्ष सुर्जेलाल गुरुङ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बुटवल –१० सुख्खानगस्थित मगर संघको भवन अमर भवनमा दिउंसो १.०० बजे शुरु हुंने कार्यक्रममा सहभागि हुंन सबैमा मञ्चले अनुरोध गरेको छ ।