
बुटवल, १० पुस । बुटवलका समाजसेवी गणेशमान सैंजुको निधन भएको छ । बुटवल वडा नम्बर ८ निवासी शैंजुको आज बिहान लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
लामो समयदेखि दमको उपचार गराईरहनु भएका ८३ वर्षीय समाजसेवी सैंजुलाई शनिबार राती बढी च्यापेपछि तत्काल अस्पताल लगिएको र उपचारको क्रममा बिहान ४ बजे लुम्बिनी अञ्चल अस्पतालको आईसियुमा निधन भएको परिवारजनले बताएका छन् । बि.सं. १९९० मा पाल्पाको तानसेनमा जन्मिनु भएका सैंजु रुपन्देहीमा रहेर असक्त तथा असाहायको सेवामा तत्पर हुनुहुन्थ्यो भने जिल्लाको सामाजिक उत्थानकालागि अनवरत रुपमा लाग्नु भएको थियो ।
बुटवलमा बिभिन्न संघ संस्थामा रहेर सामाजिक सेवामा सक्रिय सैंजु विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले लायन्स क्लव अफ बुटवलको संस्थापक उपाध्यक्ष, शीवकुमारी सैंजु शिद्धबाबा बृद्धाश्रमको अध्यक्ष, नवजाग्रिती पुस्तकालायको अध्यक्ष, बुटवल जेसिजको मानार्थ सदस्य तथा पश्चिम नेपाल बस व्यबसायी संघको पूर्व अध्यक्ष भएर समाज सेवामा उल्लेखनीय योगदान पु¥याउनु भएको थियो ।
उहाँका तीन छोरा र पाँच छोरी मध्ये जेठा छोरा सुरेशमान सैंजुको निधन भईसकेको छ । उहाँको निधन पछि अहिले उहाँको निवासमा सुभेच्छुक तथा सुभचिन्तकहरुको भिड बढेको छ । उहाँका छोरी नाति नातिना आएलगत्तै अन्तिम श्रद्धाञ्जलीकालागि शवलाई विश्व हिन्दु महासंघमा केही समय राखिने र आजै तिनाउ नदिमा अन्तिम दाह संस्कार गरिने बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनु भयो ।