
बुटवल, १० पुस । रुपन्देहीको देवदह क्षेत्रमा आज दुईवटा पुलको शिलन्यास गरिएको छ । देवदह नगरपालिका केरवारी र नवलपरासीको सुनवल उखुवारी जोड्ने कजहरार नदीमा र देवदह ३ बसन्तपुर र तिलोत्तमा १५ भाटा जोड्ने रोहिणी खोला पुलको एक कार्यक्रमका साथ आज नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा सांसद अब्दुल रज्जाकले शिलन्यास गर्नु भएको हो ।
पुल शिलन्यास कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य हरि काफ्ले, क्षेत्रीय सभापति हिराबहादुर खत्री, नेकपा माओबादी केन्द्रका मेघनाथ पौडेल, तिलोत्तमा नगरपालिका कार्यकारी अधिकृत राजेन्द्र आचार्य लगायतले बोल्दै पुल निर्माणले नजिक भएर पनि खोलाको कारणले टाढा जस्तै भएका तिलोत्तमा र देवदह नगरपालिकाका गाउंहरुलाई जोड्ने मात्र नभई गौतम बुद्धको मावली देवदहको प्रचार प्रसार र पर्यटन विकासमा मद्धत पुग्ने धारणा राख्नु भएको थियो ।
डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शाखाअधिकृत मुक्तिप्रसाद पाण्डेले गर्नु भएको थियो । देवदह नगरपालिकाको वसन्तपुर र तिलोत्तमा नगरपालिकाको भाटा बजार जोड्ने रोहिणी खोला पुल तीनवर्ष भित्र सम्पन्न गर्ने गरि सम्झौता भएको छ भने निर्माण कम्पनीले १० करोड एक लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता पनि गरेको छ । पुल १२० मिटर लम्बाईको बन्ने छ भने पुल निर्माण संगै ५०० मिटर एप्रोच सडक र २०० मिटर नदी नियन्त्रण पनि गरिने ठेक्का सम्झौतामा उल्लेख गरिएको छ । पुल र तटबन्ध निर्माण भएपछि आवतजावतमा सुबिधा पुग्नुको साथै नदी कटान नियन्त्रण भै खेत र वस्तीहरु सुरक्षितहुने विस्वासले स्थानीयहरु निकै उत्साहित भएका छन् ।
यस्तै उता देवदहको केरवानी र नवलपरासी सुनवलको उखुवारी जोड्ने ४२ मिटर लामो कजरार नदी पुल अवको दुई वर्षमा निर्माण हुने सम्झौता भएको छ । मैनाचुली सत्यसाई अन्जना जेभीले ७ करोड ४२ लाखको लागतमा पुल निर्माणको काम सम्पन्न गर्ने गरि सम्झौता गरेको कांग्रेस रुपन्देहीका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा माओवादी केन्द्रका नेता प्रजापति सापकोटा लगायतका नेताले बोल्नु भएको उहाँले जानकारी दिनुभयो ।