
भेटिकन सिटी, १० पुस । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले क्रिसमसका अवसरमा आइतबार भेटिकन सिटीमा एक समारोहलाई सम्बोधन गर्दै सिरियामा जारी द्वन्द्व अन्त्यका लागि आग्रह गर्नुभएको छ ।
सिरियामा निकै धेरै रगत बगिसक्यो यसलाई अन्त्य गर्न म यस पवित्र पर्वका अवसरमा सम्बद्ध सबैमा आग्रह गर्दछु, क्रिश्चियन धर्म गुरु फ्रान्सिसले भन्नुभयो । अब हतियारलाई सधैँका लागि रोक्ने र अन्तर्राष्ट्रिय समुदायले द्वन्द्व अन्त्यका लागि सक्रिय पहल गरी समस्याको समाधान खोज्ने बेला भएको छ, फ्रान्सिसले सहरमा क्रिसमस मनाउन जम्मा भएका मानिस तथा विश्व समक्ष सन्देश व्यक्त गर्नुभयो ।
त्यसैगरी क्रिश्चियन पर्व क्रिसमसकै अवसरमा उहाँले पूर्वी जेरुसेलम र वेस्ट ल्यान्डमा इजरायली बस्ती विस्तारमा रोक लगाउन संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गरेको निर्णयको स्वागत गर्दै इजरायली तथा प्यालेस्टिनी जनताले अब इतिहासको नयाँ पाना थप गर्ने छन् ।
उहाँले अब दुवै मुलुकबीच आपसी समझदारीको विस्तार गर्दै सामाजिक सदभावका लागि काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो । रासस/एएफपी