
बुटवल, १२ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा दर्शकहरुका सहभागिता बढदै गएको छ ।
मेलामा कृषि, सुचना प्रबिधि, हस्तकला र स्थानिय उत्पादनप्रति दर्शकहरुले रुचि देखाएका छन । रुपन्देहीको सालझण्डीबाट आएका कृषक बिनीराम न्यौपानेले मेलामा राखिएको मत्स्य तथा कृषि सम्वन्धि स्टलले आफु जस्ता किसानलाई उत्प्रेरणा थपेको बताउनु भयो । उहाले मेलामा कृषि तथा सरोकारवाला कार्यालयबाट सेवा सुबिधाका सम्वन्धमा पनि जानकारी गराउन सकेअझै राम्रो हुने बताउनु भयो ।

यस्तै कपिलवस्तु पिपराकी कलावती चौधरीले मेलामा आफुजस्ता किसानले सिक्ने धेरै कुरा भएको तर मेलापछी यसको प्रचार प्रसार र किसानका लागि आवश्यक सहुलियतका लागि राम्रो व्यवस्था नहुदा किसान समस्यामा परेको बताउनु भयो ।
मेलामा राखिएको कृषि प्याभिलियनमा पनि हरेक दिन बिभिन्न प्रतियोगिताहरु भइरहेका छन । हिजो सामेवार र आज मंगलवार माछा मार्ने बल्छि प्रतियोगिता, सम्पन्न भएको छ । मेलामा रुपन्देही जिल्लाका करिव ढेढ सय किसान तथा समुहले उत्पादन गरेका तरकारी तथा फलफुल वालीको प्रतियोगिता भइरहेको छ । त्यस्तै दुग्धपान प्रतियोगिता पनि आयोजना गरिदै छ ।

मेलाका अवसरमा आज मंगलवार भएको लोक दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान चितवन बिजयी भएको छ । चितवनले प्रतिष्ठानको बाग्मति समुहलाई पराजित गरेको छ । सास्कृतिक कार्यक्रम अन्र्तगत भोली बुधवार बिद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता हुने छ ।

त्यस्तै १५ गते शुक्रवार आमा नृत्य र १६ गते शनिवार युगल नृत्य प्रतियोगिता हुने छ ।