
बुटवल, १६ पुस । रक्षामन्त्री बालकृष्ण खांणले वर्तमान राजनीतिक निकाश दिनको लागि सबै मिल्नु पर्नेमा जोड दिनु भएको छ ।
प्रजातान्त्रीक विचार समाज रुपन्देहीले राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज बुटवलमा आयोजना गरेको महामानव वीपी कोइराला र वर्तमान राजनीतिक अवस्था विषयक कार्यक्रममा उहांले वीपीको बाटो पच्छ्याउदा वर्तमान मुलुकको संकट समाधान हुने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका खांणले वीपीले अंगिकार गरेको राष्ट्रिय मेलमिलापको नीतिलाई बहसकै रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य लिला गिरीले अहिलेको अवस्थामा वीपी भएको भए मुलुक गन्जागोलको अवस्था नफस्ने दावी गर्नुभयो । उहांले वीपी दुरदर्शी र राष्ट्रवादी नेता भएकै कारण सबैले उहांको विचारलाई अनुसरण गर्ने उल्लेख गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव शर्माले वीपीले देखाएको बाटो नै मुलुकका लागि सही दिशानिर्देश भएको बताउदै वीपीलाई गद्दार भन्ने हामीहरु अहिले उहांको नीतिलाई पछ्याएको बताउनुभयो ।
संस्थाका सभापति रामराज पोखरेलको अध्यक्षता सचिव डिल्लीनारायण पाण्डेयको संचालन, कोषाध्यक्ष कल्पना तिवारीको स्वागतमा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल, पुर्व सभासद विनोद पहाडी, वुद्धिजिवी ऋषि आजाद, नेपाली काग्रेस रुपन्देही क्षेत्र नं. ४ सभापति हरी लम्साल, महाधिवेशन प्रतिनिधी युवराज गिरी, कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डे लगायतले वीपीको मेलमिलापको नीतिका वारेमा चर्चा गर्नु भएको थियो ।