
बुटवल, १८ पुस । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज पनि बिभिन्न कार्यक्रम र प्रतियोगिताहरु सम्पन्न भएका छन ।
मेलामा आज रुपन्देही जिल्लास्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाका १६ बिद्यालयको सहभागिता रहेको प्रतियोगितामा अक्सफोड बोर्डिङ्ग स्कुल बुटवल प्रथम, एपेक्स इगंलिस बोर्डिङ्ग स्कुल शंकरनगर द्धितिय, पामिर एकेडेमी शंकरनगर तृतिय र स्कर्लस होम बोर्डिङ्ग स्कुल बुटवल सान्त्वना भएका छन ।
प्रतियोगिताका बिजयीहरुलाई क्रमश १५ हजार, १२ हजार, ८ हजार र ५हजार रुपैया नगद सहित संघका बरिष्ठ उपााध्यक्ष खिम कहादुर हमाल र सास्कृतिक कार्यक्रम संयोजक टंक प्रसाद गैरेले पुरस्कृत गर्नु भएको थियो ।
मेलाका अवसरमा आज राष्ट्रिय कलाकार कुन्ती मोक्तान, दीपक खडका, कृष्ण रेउले, नारायण बीपी परियार, कोपिला गुरुङ्ग, पबित्रा सुर्तुगिं मगर, सुरज भिरखोइरेलगायतका कलाकारहरुले कला प्रस्तुत गरेका थिए । मेलाकै अवसरमा जारी कृषि वाली प्रतियोगिता, माछा मार्ने (बल्छी) प्रतियोगिता आज पनि सम्पन्न भएका छन ।
मेलाका अवसरमा आज किसानका लागि उन्नत बीउ बिजन कार्यक्रमको संयोजनमा बुटवलमा दुग्ध बजारीकरण सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा, स्याङजा, गुल्मी, अर्घाखाची, दाङ, प्युठान, सल्यान, रुकुम र रोल्पाका दुग्ध उत्पादक कृषक, किसान समुह, दुग्ध सहकारी र डेरी उद्योगका सञ्चालकहरुको सहभागिता रहेको थियो ।
गोष्ठीको उदघाटन गर्दै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले कृषि क्षेत्रको विकास नेपालको आर्थिक बिकासका लागि दीगो भएकाले संघले कृषिको व्यवसायीकरणका लागि बिशेष कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराउदैबुटवललाई पश्चिम नेपालको कृषि बजार केन्द्रका रुपमा पनि बिकास गर्ने बताउनु भयो ।
उहाले नीजि क्षेत्रसंगको सहकार्यमा भएका सरकारी कार्यक्रमहरु बढी उपलब्धिमुलक हुने भएकाले दुग्ध पदार्थको बजारीकरणमा पनि सरकारले नीजि क्षेत्र संग सहकार्य गर्नुपर्ने बताउनु भयो ।
नीजि क्षेत्रको महत्वपूर्ण सहभागिता रहेको चर्चा गर्दै यस किसिमका कार्यक्रममा संघको साथ रहने बताउनुभयो । कार्यक्रममा वोल्दै किसानका लागि उन्नत वीउ विजन कार्यक्रम, कार्यक्रम ब्यवस्थापन कार्यालय रुपन्देहीका प्रमुख कौशलकुमार पौडेलले अहिलेको बजारमा प्रतिस्पर्धा बढ्दो रहेको चर्चा गर्दै यस्तो अवस्थामा दुधको उत्पादन मुल्य कसरी घटाउने तथा उत्पादन कसरी गुणस्तरीय बनाउने भन्ने विषयमा ध्यान जानु पर्ने बताउनु भयो ।
कृषि विकास मन्त्रालयका बरिष्ठ कृषि विज्ञ रामवावु अधिकारीले मन्त्रालयले किसानको हितमा जोड दिदै आएको बताउनु भयो । कृषि उद्यम केन्द्रका निर्देशक डाक्टर दिनेश पराजुलीले दुधको बजारीकरण नै प्रमुख चुनौती रहेको बताउनुभयो । क्षेत्रीय पशु सेवा निर्देशनालयका निर्देशक डाक्टर राजेश प्रजापतिले दुधको उत्पादनमा फड्को मारेको भन्दै बजारीकरणमा नै जोड दिनुपर्ने बताउनु भयो ।
राष्ट्रिय पशु प्रज्जनन केन्द्रका प्रमुख रुद्र पौडेलले दुग्ध उत्पादन तथा बजारीकरणको सहजीकरणका लागि यस किसिमका कार्यक्रम महत्वपूर्ण हुने बताउनु भयो । कृषि विकास मन्त्रालय किसानका लागि उन्नत विउ विजन कार्यक्रम, कार्यक्रम ब्यवस्थापन कार्यालय रुपन्देहीका उपप्रमुख तुल्सीराम भण्डारीले कार्यलय मार्फत सञ्चालित कार्यक्रमहरु बारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा दुग्ध उत्पादन बजारीकरण सम्वन्धी डाक्टर श्रीराम न्यौपाने र डाक्टर हरि शर्मा न्यौपानेले कार्यालयका तर्फबाट, नेपाल डेरी एशोसिएसनका निवर्तमान अध्यक्ष मेघराज भण्डारीले एशोसिएसनका तर्फबाट र लुम्विनी दुग्ध विकास आयोजनाका विज्ञ भोजराज खरेलले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कृषि बिकासमन्त्रालयका वरिष्ठ कृषि विज्ञ रामवावु अधिकारीले समग्र रुपमा सबै कार्यपत्रमाथि टिप्पणी गर्नु भएको थियो ।