
बुटवल, २५ पुस । तिलोत्तमा गोल्डकप फुलवल प्रतियोगिताको १९ औं संस्करण आगामी फागुनमा सञ्चालन हुने भएको छ । प्रतियोगिता संचालनका लागि आवश्यक पूर्वाधार निर्माण, विभिन्न उप समिति गठन गरि आर्थिक संकलन र संघ संस्थासंगको समन्वय गर्ने कार्य तिब्र गतिमा भैरहेको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा संचालन हुने १९ औं संस्करणको फुटवल प्रतियोगिता आगामी फागुन १२ देखि २१ गते सम्म संचालन गर्ने तयारी गरिएको संघका अध्यक्ष दीर्घबहादुर केसीले बताउनु भयो ।

२०३३ सालवाट शुरु भएको तिलोत्तमा गोण्डकप प्रतियोगितामा विभागिय तीन टिम सहित १० टिमको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेले यस क्षेत्रकै सर्वाधिक राशी रहेको ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीले मोटरसाईकल पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न करिव ७४ लाख रुपैयाँ लाग्ने अनुमान आयोजकले गरेका छन । बुटवल उपमहानगरपालिका संरक्षक रहेको गोल्डकप संचालन गर्न आर्थिक अभावले गर्दा १८ औं सस्करण २०७१ मा गरिएपनि गत वर्ष २०७२ सालमा प्रतियोगिता संचालन हुन सकेको थिएन ।