स्वर्ण महोत्सव महायज्ञको तयारी अन्तिम चरणमा

1.3K

स्वर्ण महोत्सव महायज्ञको तयारी अन्तिम चरणमा

बुटवल, ४ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मणिग्राममा रहेको सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा सञ्चालन गर्न लागिएको स्वर्ण महोत्सव महायज्ञ २०७३ को तयारी करिव अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् ।

नियमित रुपमा प्रत्येक वर्ष सञ्चालन गर्दै आएको महायज्ञ ५० वर्ष पुरा भएको अवसरमा यो वर्ष माघको १९ देखि २९ गतेसम्म सर्वपुराण, महोत्सव तथा साङ्ग गायत्री पुरश्चरण धान्याचल महायज्ञ गर्न लागिएको हो । सोही महायज्ञको अवसरमा माघकै २७ र २८ गते बृहत सन्त सम्मेलन समेत गर्ने तयारी गरिएको छ । उक्त सम्मेलनमा नेपाल सहित छिमेकी मुलुकका विद्वान सन्तहरु सहभागि हुने र धार्मिक मार्ग दर्शन निर्माण हुने महायज्ञ मुल आयोजक समितिका अध्यक्ष नारायण बञ्जाडेले बताउनु भयो ।

महायज्ञमा १८ पुराँण, रामायण, महाभारतको पारायण, साङ्ग गायत्री पुनश्चरण र विशिष्ट धनधान्याचल ज्ञान महायज्ञका प्रमुख संरक्षक हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस सन्तशिरोमणी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजद्वारा श्रीमद्भागवतको एकादशस्कन्धमा आधारित दार्शनिक प्रवचन हुनेछ । त्यस्तै सन्तहरुबाट पुराण, उपनिषद् र वेदान्तमा आधारित दार्शनिक प्रवद्धनहरु हुने छन् ।

त्यसैगरी पं. नारायणप्रसाद न्यौपानेले श्रीमद्देवी भागवतमा आधारित संगितमण कथा प्रवचन गर्नुहुने संरक्षक तथा मुल्याङ्कन समितिका संयोजक रोमणीप्रसाद पाठकले बताउनु भयो ।

सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा प्रत्येक वर्ष गर्दै आएको महायज्ञ ५० औं महायज्ञ पुगेको अवसरमा स्वर्णवर्षको रुपमा स्वर्ण महोत्सवको रुपमा मनाउन लागिएको र आगामी माघको १९ गते शोभा कलश यात्रा सहित महायज्ञको समुद्घाटन गरिने छ । माघको २९ गतेसम्म चल्ने महायज्ञमा २७ र २८ गते राष्ट्रिय सन्त विद्वत् सम्मेलन गरिने महासचिव भरत भुसालले बताउनु भयो ।