
बुटवल, २६ पुस । तिलोत्तमा नगरपालिकाको नगरपरिषदमा प्रस्तावित आर्थिक वर्ष २०७४/०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम गरिएको छ ।
कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेलले नगरपालिकाले आर्थिक बर्ष ०७४/०७५ का लागि ३४ करोड ७ लाख बराबरको आय/व्यय विवरण सहितको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । परिषदको उद्घाटनमा गर्दै रक्षामन्त्री बालकृष्ण खांणले नगरलाई हरियाली शहरको रुपमा बिकास गरिनु पर्नेमा जोड दिनुभयो ।
उंहाले विकास आयोजनाका काम सबैको सहमति र सहकार्यले अघि बढेको बताउँदै तिलोत्तमा नगरको विकासमा योजनाबद्ध विकासमा लाग्न जोड दिनुभयो । उहाले विकास आयोजनामा बजेट निर्धारण गर्दा सबै निकाय र सरोकारवालासँग समन्वय गर्दा एउटै योजनाका लागि धेरै निकायबाट बजेट छुट्टिने समस्या नहुने बताउनुभयो ।
लुम्बिनी संसारकै लागि आकर्षणको केन्द्र्र भएको बताउँदै मन्त्री खाँणले लुम्बिनीका जनताको भावना अनुसार नै आफ्नो भावना भएको बताँदै चुरे र पहाडी क्षेत्र सहितको लुिम्बनीकालागि संविधान निर्माणका बेला सक्रियता पूर्वक लागेको बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य लीला गिरीले निर्वाचनमा जाँदा पार्टीगत प्रतिस्पर्धा असल कामका लागि हुनुपर्ने उल्लेख गर्दै नगर विकासमा सहमति र सहकार्य नै प्रमुख भएको उल्लेख गर्नुभयो । उहाँले सुकुम्बासी बस्तीमा कानुन कारण देखाएर बिजुली पानी सिफारिस रोक्न नहुने उल्लेख गर्दै नगरले जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बतानुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका हरिलाल पाण्डे, एमालेका वासुदेव घिमिरे, एमाओवादीका हेमन्त पाण्डे, नयाँ शक्तिकी विमला चौधरी र दिनेश अर्याल, अखण्ड नेपालका दलबहादुर जिसी, जनमुक्तिका छत्रबहादुर दर्लामी, छत्तिस मौजा सिंचाइका अध्यक्ष यज्ञ गैह्रे, रेडियो लुम्बिनीका स्टेशन म्यानेजर इन्दिरा अर्याल, शिक्षक युनियनका उपाध्यक्ष डिल्लीराज भण्डारी, खानेपानी उपभोक्ता महासंघका अध्यक्ष धु्रवकुमार धिताल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारी, ब्यापार संघका अध्यक्ष जेपी कँडेल, तिलोत्तमा कर्मचारी एशोसिसनका अध्यक्ष मानबहादुर खातीलगायतले बोल्नुभएको थियो ।
नगरपालिकाकी कर्मचारी सीता भण्डारीको सञ्चालन तथा लेखा अधिकृत राजेन्द्रप्रसाद आचार्यले परिषदको उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा एस एल सी परीक्षामा उत्कृष्ट अंक ल्याएका शान्ति माविका विद्यार्थी, नगरका कर्मचारी तथा उपभोक्ता तथा टोल सुधार समितिलाई सम्मानित गरिएको थियो ।