
गुल्मी, १ माघ । बुटवलवाट गुल्मीको थानपतितर्फ आउँदै गरेको निजी जीप आज गुल्मीको थोर्गामा दुर्घटना भएको छ । दुर्घटनामा परी एकै परिवारमा आठ जना घाईते भएका छन् ।
बा ७ च ७७८३ नम्बरको जीप आज माघे संक्रान्तीको अवसर पारेर रिडीको कालीगण्डकीमा स्नान गरेर घर फर्किने क्रममा थानपति गाविस २ स्थित थोर्गामा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरिक्षक केशवराज भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा परी जिप चालक वर्ष २३ का सुनिल गौतम तथा जीपमा सवार सागर गौतम, आकाश गौतम, समिर गौतम, आर्यान गौतम, आष्मा गौतम, अस्मिता गौतम र सुनिता ज्ञवाली घाईते भएको प्रहरीले जनाएको छ ।
घाईतेहरु मध्य सुनिता, अस्मिता र आष्माको अवस्था गम्भीर रहेका कारण उनीहरुलाई थप उपचारका लागि पाल्पा स्थित मेडिकल कलेज प्रवासमा लगिएको छ । घाईतेहरु मध्य तीनजनालाई टाउको र हात खुट्टामा गम्भीर चोट लागेको छ भने अन्य घाईतेहरुको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भैरहेको छ ।
तिब्र गतिमा रहेको उक्त जीप घुम्टी मोड्ने क्रममा सडकदेखि एक सय ५० मिटर तल खसेको थियो ।