
बुटवल, १ माघ । दोस्रो राष्ट्रिय योग दिवस आज देशभर मनाईएको छ । माघ १ लाई राष्ट्रिय योग जागरण दिवसका रुपमा मनाईएको हो । जिल्ला शिक्षा कार्यालय रुपन्देहीको आयोजना र कामधेनु गौधाम देवदह भलुहीको सहआयोजनामा बुटवलमा राष्ट्रिय योग दिवस मनाईएको छ ।
क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवलमा आयोजना गरिएको योग शिविरमा कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थी, शिक्षक, सामाजिक संघसंस्थाका अगुवा, समाजसेवी र योगसंग सम्बन्धित संघसस्थाको सहभागिता रहेको थियो । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको अध्यक्षतामा भएको योग शिविरमा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले योग ध्यानले मानिसलाई नैतिकवान र स्वास्थ्य बनाउने भएकाले सबैले योग शिक्षा लिनुपर्नेमा जोड दिनुभयो ।
उहांले योगले मानिसलाई नैतिकवान र स्वास्थ्य राख्ने भएकाले सरकारले माघ १ लाई राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरुवात गरेको बताउनुभयो । योगी सोमराजले संसारका मानिसहरु योग शिक्षामा आकर्षित भएको बताउंदै नेपालको शैक्षिक पाठ्यक्रममा योग शिक्षा समावेश गर्न आवश्यक रहेको बताउनुभयो । उहांले योग ध्यानबारे प्रशिक्षण दिनुभएको थियो ।
माघ १ लाई राष्ट्रिय योग जागरण दिवसका रुपमा मनाउन ०७१ साउन २८ गतेको मन्त्री परिषद् बैठकले निर्णय गरेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
सरकारले औपचारिक रुपमा माघ १ गतेलाई राष्ट्रिय योग दिवसको रुपमा मनाउने निर्णय गरेपछि गतवर्ष पहिलो राष्ट्रिय योग दिवस मनाईएको थियो ।

स्वस्थ्य जीवनका लागि योगको महत्व
राष्ट्रिय योग दिवसका अवसरमा बुटवलसहित यस क्षेत्रमा विभिन्न कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागिहरुले नियमित योग गरेमा स्वस्थ्य जीवन विताउन सकिने बताएका छन् ।
आज बुटवलमा लुम्विनी अञ्चल आयुर्वेद औषधालयले गरेको कार्यक्रममा सहभागिहरुले शहरका बासिन्दाहरु ब्यस्त जीवन शैलिमा रहने तर शारिरिक क्रियाकलाप कम हुने हुदा विभिन्न रोगका समस्या देखापर्ने हुदा ती रोग बाट मुक्त हुन योगले टेवा पु¥याउने बताएका थिए । स्वस्थ्य जीवन यापनका लागि योगको महत्व बढी हुने भएकाले औषधालयमा योग दिवसमा कार्यक्रम गरिएको कविराज विष्णुहरि आचार्यले बताउनु भयो ।
कार्यक्रममा वोल्दै औषधालयका प्रमुख चेतनारायण आचार्यले योग र आयुर्वेद स्वस्थ्य जीवनका लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहांले नियमित योगा गर्नेहरुको शरिर फूर्तिलो हुने र रोगले पनि फेला पार्न नसक्ने भन्दै जति योगाको महत्व छ, त्यत्तिकै आयुर्वेद उपचारको पनि महत्व रहेको बताउनु भयो ।
पताञ्जली योग समिति लुम्विनीका अध्यक्ष कविराज विष्णुहरी आचार्यका अनुसार शनिवार बुटवलमा अन्य कार्यक्रम पनि गरिएको छ । समितिको आयोजनामा जीवन जिउन सकिने कला सम्वन्धि कार्यक्रम गरिएको उहांले बताउनु भयो । कार्यक्रममा सहभागिहरुले शारिरिक, मानसिक, सामाजिक तथा सांस्कृतिक र आध्यात्मिक क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
आचार्यले योग दिवसमा नवलपरासी, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मीमा पनि कार्यक्रम गरिएको जानकारी दिनुभयो ।