बुटवल, १ माघ । छन्त्याल जातिको महान चाड म्हिलाङे सोङती अर्थात माघे संक्रान्ती छन्त्यालहरुले बुटवलमा मनाएका छन् । छन्त्यालहरुले माघे संक्रान्तीलाई नयां बर्षको रुपमा मनाउने गर्दछन् ।
नेपाल छन्त्याल संघ रुपन्देहीले माघे संक्रान्तीको अवसरमा बुटवलको ढवाहमा एक कार्यक्रमको अयोजना गरि शुभकामना आदानप्रदान गरेको छ । सोही कार्यक्रममा बोल्दै सांसद ज्ञानकुमारी छन्त्यालले अल्प संख्यक छन्त्याल जातिको पहिचान संकटमा परेकाले संरक्षणमा राज्यलाई घचघच्याउनुपर्ने बताउनुभयो ।
आफ्नो जातिको भाषा, धर्म, संस्कृति संरक्षणमा आफै सचेत हुनु पर्नेमा उहाले जोड दिनुभयो । कार्यक्रममा आदिवासी जनजाती महासंघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष दिल बहादुर छन्त्यालले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न सरकार गैरजिम्वेवार बनेको आरोप लागाउनुभयो ।
नेपाल छन्त्याल संघका पुर्व केन्द्रीय अध्यक्ष चित्र बहादुर छन्त्यालले सबैलाई एकजुट हुन आग्रह गर्नुभयो । कार्यक्रम सांसद ज्ञानकुमारी छन्त्यालले छन्त्यालका अगुवा स्वर्गीय दिल बहादुर घरब्जाको स्मृतिमा बुटवल १४ ढवाहमा निमार्ण गरिएको स्मृति द्वारको उद्घाटन गर्नुभएको छ ।
कार्यक्रममा संघका निवर्तमान केन्द्रीय अध्यक्ष लक्ष्मी छन्त्याल, थकाली सेवा समाज बुटवलका अध्यक्ष शिवप्रसाद शेरचन, सन्दिप थापा, राज बहादुर छन्त्याल लगायतले पर्वको बारेमा धारणा राख्नु भएको थियो ।