
बुटवल, ४ माघ । माग अनुसार सुन नआएको भन्दै रुपन्देहीका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सुनचाँदी व्यवसायी संघ रुपन्देहीले सरकारसमक्ष माग अनुसार सुनको आपुर्ती गर्न भनेपनि सनुवाई नभएको भन्दै बुधवार र विहीवार दुई दिन व्यवसाय नै बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
सुनचाँदी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विक्रमबहादुर सुनारले आज विज्ञप्ति जारी गरि विवाहको सिजनमा सुन नै नपाएपछि व्यवसाय चलाउनुको कुनै अर्थ नभएकाले बन्द गर्नुपरेको जनाउनुभएको छ । उहाँले दुई दिन व्यवसाय बन्द गर्न सुनचाँदी व्यवसायीहरुलाई समेत आग्रह गरिएको छ ।
सुनको व्यापार सिजनको बेलामा धेरै हुने हुँदा अहिले अर्डर भएअनुसार गरगहना बनाउन नपाइएकाले सुनको आपुर्ती रुपन्देहीमा मात्रै दैनिक दुई किलोको आवश्यकता रहेको व्यवसायीहरुको भनाई छ । तर, अहिले रुपन्देहीमा पन्ध्र दिनमा तीन किलो मात्रै सुन उपलब्ध भएको सुनचाँदी व्यवसायी संघ बुटवल शाखा अध्यक्ष दीपक विश्वकर्माले बताउनुभयो ।
यसअघि संघले शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री कृष्णबहादुर महरालाई ज्ञापनत्र पेश गर्दै सुनको आवश्यकता अनुसार आपुर्ती गराउन आग्रह गरेको थियो ।