ग्याँस विक्रेता गिरफ्तारमा परे

1.3K

ग्याँस विक्रेता गिरफ्तारमा परे

बुटवल, ४ माघ । ग्याँस कम्पनीले बिक्रेतालाई दिंदै आएको कमिसन घटाएको बिरोधमा आन्दोलन गर्दै आएका ग्याँस विक्रेतालाई आज प्रहरीले रुपन्देहीका बिभिन्न ठाउँबाट गिरफ्तार गरेको छ ।

उद्योगले बिक्रेतालाई दिँदै आएको कमिसन घटाएपछि आन्दोलन गर्दै आएका बिक्रेताले उद्योगबाट ग्याँस उठाएका थिएनन् । उद्योगबाट ग्याँस नउठेपछि उद्योगले बिक्री वितरणलागि बजारमा ल्याएको गाडीलाई बिक्रेताले नियन्त्रणमा लिएकाले दुई जना महिला सहित १४ जना बिक्रेतालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक मधु नेपालले बताउनु भयो ।

बुटवल ग्याँस बोकेको गाडीलाई बिक्रेताले नियन्तरणमा लिएर बुटवल १० स्थित ग्याँस बिक्रेता संघ रुपन्देहीका कार्यालयबाट १२ जनालाई र तिलोत्तमा नगरपालिकाको ड्राईभरटोलबाट ग्याँस विक्रेता महासंघका केन्द्रीय सदस्य कमल पौडेल, बुटवल नगर समितिका अध्यक्ष भुवनेश्वर खत्री सहित १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल आयल निगमले गत पुसको १९ गतेदेखि लागुहुनेगरी ग्याँसको उपभोक्ता मुल्य एक हजार तीन सय पाँच रुपैंया निर्धारण गरेपछि उद्योगहरुले विक्रेतालाई दिँदै आएको कमिसन घटाएका थिए । उद्योगले दिँदै आएको कमिसन रकम घाएको बिरोधमा ग्याँस बिक्रेता संघ रुपन्देही, पाल्पा, कपिलबस्तु र नवलपरासीले संघर्ष समिति बनाएर बिरोध गर्दै आएका छन् ।