मणिग्राममा स्वर्ण महोत्सव महायज्ञ

1.3K

मणिग्राममा स्वर्ण महोत्सव महायज्ञ

बुटवल, ५ माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा सञ्चालन गर्दै आएको महायज्ञलाई त्यस क्षेत्रको सांस्कृतिक पर्वको रुपमा बिकास गर्ने योजना रहेको बताईएको छ ।

उक्त मन्दिर स्थापना संगै प्रत्येक वर्ष गर्दै आएको महायज्ञ यो वर्ष ५० औं पुगेको छ । महायज्ञ गर्नु सुरु भएको ५० औँ वर्ष पुगेको अवसरमा स्वर्ण महोत्सव महायज्ञ २०७३ गर्न लागिको छ । आज यज्ञस्थल मन्दिर परिषरमा पत्रकार सम्मेलन गरि नियमित रुपमा प्रत्येक वर्ष सञ्चालन गर्दै आएको महायज्ञ ५० वर्ष पुरा भएको अवसरमा यो वर्ष माघको १९ देखि २९ गतेसम्म सर्वपुराण, महोत्सव तथा साङ्ग गायत्री पुरश्चरण धान्याचल महायज्ञ गर्न लागिएको र महायज्ञलाई त्यस क्षेत्रको सांस्कृतिक पर्वको रुपमा बिकास बिकास गर्ने मुख्य उद्देश्य रहेको महायज्ञ सम्पादन समितिका अध्यक्ष नारायण वञ्जाडेले बताउनु भयो ।

स्वर्ण महोत्सव महायज्ञकै अवसरमा माघकै २७ र २८ गते राष्ट्रिय सन्त–विद्वत् सम्मेलन समेत गर्ने तयारी गरिएको छ । उक्त सन्त सम्मेलनमा डा. गुरुप्रसाद सुवेदीले वर्ण व्यबस्था र वर्ण धर्म, नेपाल संस्कृति विश्वविद्यालयबाट वैदिक धर्म संस्कृति र संस्कृत भाषाको उन्नयन तथा प्राध्यापक मोहन भण्डारीले संविधानमा धर्म निरपेक्षताको व्यबस्था भएपछिको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

राष्ट्रिय सन्त–विद्वत् सम्मेलनमा देशका लब्ध प्रतिष्ठित सन्त महन्त, धर्मगुरु, पिठाधिश, संस्कृत विश्व विद्यालयका प्राज्ञहरु, हिन्दु धर्मका ज्ञाता तथा अध्यताहरु सहभागि हुनेछन् । राष्ट्रिय सन्त–विद्वत् सम्मेलनबाट वर्णधर्म व्यबस्था, संस्कृत भाषको उन्नयनको आगामी कार्यभार एवम् समसामयिक विषयमा मणिग्राम घोषणापत्र जारी गरिने स्वर्ण महोत्सव महायज्ञका अनुगमन तथा निर्देशक समिति संयोजक रोमणीप्रसाद पाठकले बताउनु भयो ।

महायज्ञमा १८ पुराँण, रामायण, महाभारतको पारायण, साङ्ग गायत्री पुनश्चरण र विशिष्ट धनधान्याचल ज्ञान महायज्ञका प्रमुख संरक्षक हरिहर सन्यास आश्रम देवघाटका पिठाधिस सन्तशिरोमणी श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजद्वारा श्रीमद्भागवतको एकादशस्कन्धमा आधारित दार्शनिक प्रवचन हुनेछ । त्यस्तै सन्तहरुबाट पुराण, उपनिषद् र वेदान्तमा आधारित दार्शनिक प्रवद्धनहरु हुने छन् । त्यसैगरी पं. नारायणप्रसाद न्यौपानेले श्रीमद्देवी भागवतमा आधारित संगितमण कथा प्रवचन गर्नुहुनेछ ।

आध्यात्मिक अनुष्ठानका रुपमा स्थापित गर्न खोजिएको महायज्ञको यज्ञशेषबाट सामाजिक, आध्यात्मिक जागरणका कार्यक्रम सञ्चालन गर्नुका साथै बिद्यार्थी आवास गृह, स्थायित्वकोलागि अक्षयकोष निर्माण गर्ने लक्ष्य लिईएको सचिव भरत भुसालले बताउनु भयो ।

२०२२÷०२३ सालमा त्यस क्षेत्रमा अनाबृष्टिको कारण कृषि उत्पादनमा ठूलो क्षेती व्यहोर्नु परेका कारण प्राकृतिक विपत्तिबाट छुटकारा पाउन सरस्वती पञ्चायतन मन्दिर स्थापना गरिएको र २०२४ सालदेखि महायज्ञ गर्न सुरु गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । मन्दिरबाट प्रारम्भदेखि नै गुरुकुल सञ्चालन गरि गीर्वाण सरस्वती तथा साधारण माबि सञ्चालन गरिएको थियो । महायज्ञको आम्दानीबाटै सरस्वती संस्कृत क्याम्पस समेत सञ्चालन गरिएको छ ।

त्यस्तै गीर्वाण सरस्वती संस्कृत तथा साधारण माबिमा संस्कृत अध्ययन गर्ने बिद्यार्थीलाई आवास र भोजनको व्यबस्था गरिँदै आएको छ । उक्त गुरुकुलमा हाल २५ जना बटुकहरु रहेको र उनीहरुको सबै व्यबस्थापनमा खाध्यान्न बाहेक बार्षिक तीन लाख रुपैंया खर्च लाग्ने मन्दिर सञ्चालक समितिले जनाएको छ ।