‘उपलब्धी रक्षाको लागि अन्तिम लडाई’

1.3K

‘उपलब्धी रक्षाको लागि अन्तिम लडाई’

बुटवल, ५ माघ । नेकपा (माओवादी) रुपन्देही जिल्लाको पाँचौं जिल्ला सम्मेलन आज देखि शुरु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै पार्टीका स्थायी कमिटि सदस्य हेमन्तप्रकाश वलीले मुलुकको अस्थिर राजनीतिको निकास एकिकृत जनक्रान्ति मात्रै रहेको बताउनु भयो । उहाँले क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धीहरु गुम्ने अवस्था आएको कारण त्यसको रक्षाको लागि जनताहरु अन्तिम लडाई लड्नुपर्ने बताउनु भयो ।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी व्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्द विरजंगले देशमा अब जनताको सत्ता स्थापना नगरेसम्म क्रान्ति नरोकिने बताउनु भयो । महाधिवेशनको सन्र्दभमा बोल्दै अहिलेको महाधिवेशन ऐतिहासिक महत्वको भएको र यसले नेपाली जनताको भविष्यको फैसला गर्ने बताउनु भयो ।

पार्टीका केन्द्रीय सदस्य बसन्त श्रेष्ठ प्रज्वलन, अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रिय अध्यक्ष बन्धु चन्द, कपिलवस्तुका सेक्रेटरी संगम पुन, बामपन्थी विश्लेषक तथा बरिष्ठ साहित्यका दिल सहानी, अखिल नेपाल शिक्षक संगठनका बरिष्ठ उपाध्यक्ष घनश्याम पाठक लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

                                                                                     तस्वीर : अर्वेन्द्र गिरी

जिल्ला सेक्रेटरी शरद ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने नेताहरुले पुष्पकमल दाहाल प्रचण्डको आत्मसमर्पणवादी चरित्र र बाबुरामको विसर्जनवादी चरित्रका कारण कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको बताएका थिए । कार्यक्रमको सञ्चालन कार्यालय सदस्य अमर रोका र स्वागत कार्यालय सदस्य विष्णु भट्राई विश्वासले गर्नुभएको थियो । कार्यक्रममा रक्तरञ्जित सांस्कृतिक समुहले क्रान्तिकारी गित तथा नृत्य प्रस्तुत गरेको थियो ।

जिल्लाभरका झण्डै २ सय प्रतिनिधी तथा पर्यवेक्षकबीच सम्पन्न हुने सम्मेलन भोलिबारसम्म चल्ने जिल्ला सेक्रेटरी शरद ओलीले बताउनु भयो । जिल्ला सम्मेलनको उद्घाटन अँगाडी बुटवलको राजमार्ग चौराहाबाट ¥याली प्रदर्शन गरिएको थियो । ¥याली ट्राफिकचोकमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।