
बुटवल, ५ माघ । अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बुटवल–१३ ले संस्थाको नवौं स्थापना दिवशको अवसरमा आज संस्थाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष मीनराज ज्ञवालीको अध्यक्षता तथा कोषाध्यक्ष कृष्णप्रसाद पौड्यालको संयोजकत्वमा भएको कार्यक्रममा ३५ युनिट (३५ पोका) रगत सङ्कलन भएको थियो ।
स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीको आतिथ्य तथा सहकारीका सचिव केशवराज पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो । सो अवसरमा संस्थाका अध्यक्ष मीनराज ज्ञवाली, उपाध्यक्ष टंकनाथ अधिकारी, कोषाध्यक्ष कृष्णप्रसाद पौड्याल, सदस्य लक्ष्मण ज्ञवाली, शेयर सदस्य एवम् भलवारी जेसीज वर्ष २०१७ का लागि अध्यक्ष निर्वाचित मुक्तिनाथ गैह्रे लगायतले रक्तदान गर्नुभएको थियो ।
गतवर्षको वार्षिकोत्सवमा वृद्धाश्रमका प्रौढहरूलाई पौष्टिक आहार र औषधीजन्य वस्तुहरू प्रदान गरेको सहकारीले यसवर्ष रक्तदान कार्यक्रम गरेको संस्थाका सदस्य उत्तम अर्यालले जानकारी दिनुभयो ।
विगतका वर्षदेखि नै सहकारीका भावना अनुकुलका श्रृजनात्मक कार्य सञ्चालन भएबाट अमरज्योति सहकारीप्रति रूचि बढेर रक्तदान सहित नयाँ सदस्यता लिएको नवप्रवेशी सदस्य दिनेश ज्ञवालीले बताउनुभयो ।