क्रान्तिकारी माओवादीको तीन महिने अभियान

1.3K

क्रान्तिकारी माओवादीको तीन महिने अभियान

बुटवल, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को तीन महिने संगठन विस्तार, सुदृढीकरण तथा जनपरिचालन अभियान आजबाट शुरु भएको छ । पार्टीले एकै पटक ७५ जिल्लाबाट अभियान शुरु गरेको हो ।

पार्टी केन्द्रीय कार्यक्रम अनुसार रुपन्देहीमा पनि आजबाट अभियान शुरु भएको छ । पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले आज एक कार्यक्रमकाबीच शंकरनगरको बनबाटिकाबाट अभियानको उद्घाटन गर्नुभएको हो । उहांले सो अवसरमा बोल्दैं जनपरिचालन सफल पार्न लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । संसदीय व्यवस्थाको भण्डाफोर र संगठन विस्तार अभियानलाई संगसंगैं लैजान उहांले आग्रह गर्नुभयो ।

पार्टी केन्द्रीय समितिका सदस्य निलबहादुर पुनले पश्यगामी संविधान खारेज गरि जनसंविधान निर्माणमा जोड दिनुभयो । अर्का केन्द्रीय सदस्य लक्ष्मीकान्त पौडेलले क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी शक्तिहरुबीच धु्रबिकरणको आवश्यकता औल्याउंनुभयो ।

पार्टी,रुपन्देहीका सेक्रेटरी भुलबहादुर सुनारीको अध्यक्षता, सचिवालय सदस्य विनोद मरासनीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला सल्लाहकार दलबहादुर थापा, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सचिव तेजकुमारी थापा लगायतले बोल्नुभएको थियो । अभियान चैत्रसम्म चल्नेछ ।

आज उद्घाटन भएको अभियान पार्टीले भोलीदेखि रुपन्देही इलाका नं ५ बाट शुरु गर्ने इन्चार्ज के.जी.कुमार पौडेलले जानकारी दिनुभयो । पार्टीले सोही कार्यक्रमबाट तीन सल्लाहकारसहित २३ सदस्यीय देशभक्त गणतान्त्रिक मोर्चा–नेपाल,रुपन्देही समेत गठन गरेको छ ।