बुटवलमा क्यान ईन्फोटेकको तयारी

1.3K

बुटवलमा क्यान ईन्फोटेकको तयारी

बुटवल, १६ माघ । कम्प्युटर एशोसियसन अफ नेपाल (क्यान) रुपन्देहीले आगामी फागुनमा बुटवलमा छैंठौ क्यान ईन्फोटेक २०१७ गर्ने तयारी गरेको छ ।

सूचना तथा सञ्चार प्रबृधीको क्षेत्रमा कार्यरत विज्ञ तथा व्यबसायीहरुको छाता संस्थाको रुपमा स्थापित क्यान रुपन्देहीले आगामी फागुनको १२ देखि १६ गतेसम्म बुटवल १२ रामनगर स्थित बुटवल मण्डपमा क्यान ईन्फोटेक गर्न लागेको आज बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

पाँच नम्बर प्रदेशको आर्थिक, सांस्कृतिक, पर्यटकीय, औद्योगिक तथा सञ्चार नगरिको रुपमा विकसित भएको बुटवलमा ‘डिजिकम क्यान ईन्फोटक–२०१७ ईन एशोसियसन वीथ ईन्फो डेभलोपर्स’ नामाकरण गरि सूचना प्रविधी सम्बन्धि मेला सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सन् २००२ देखि बुटवलमा मेला गर्न लागेको क्यान रुपन्देहीले २००५, २००७, २००९ र २०११ मा गरि पाँच पटक सूचना प्रबिधी सम्बन्धि मेला गरिसकेको छ । अहिले गर्न लागिएको क्यान ईन्फोटेक– २०१७ छैठौं संस्करण हो ।

सञ्चालन गर्न लागिएको क्यान ईन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोवाईल एसेसोरिज, डिलर र डिष्टिव्यूटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ् ईन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स लगायतका एक सय ३० वटा स्टल रहने क्यान महासंघ नेपाल रुपन्देहीका अध्यक्ष रोसन कंडेलले जानकारी दिनुभयो ।

सञ्चालन गर्न लागिएको ईन्फोटेकमा ब्रोडव्याण्ड ईन्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिईएको र ब्रोडव्याण्ड ईन्टरनेट सेवामा विशेष सहुलियत सहित हाई स्पीड ईन्टरनेट प्रमुख आकर्षण बन्ने अध्यक्ष कंडेलले बताउनु भयो । ईन्फोटेकमा रहने टेलिफोन तथा मोवाईल, कम्प्युटर हार्डवेयर सामाग्रीहरुमा विशेष सहुलियत प्रदान गरिने उहाँले बताउनु भयो ।

हाल उपलब्ध सफ्टवेयरहरुमा नया भर्सन सहित अपडेट मोडल उपलब्ध हुनुका साथै नयाँ कम्पनी तथा उत्पादनहरुको समेत थालनी यसै ईन्फोटेकबाट गरिने बताईएको छ । त्यस्तै सरकारले देशका प्रमुख शहरहरुमा अनिवार्य रुपमा डिजिटल टिभी ट्रान्समिसन प्रणाली लागु गर्ने लक्ष्य लिएकाले त्यस सम्बन्धि जानकारी पनि गराईने क्यान महासंघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देहीका संस्थापक अध्यक्ष नवराज कुवँरले बताउनु भयो । त्यस्तै सरकारले परिकल्पना गरेको स्मार्ट सिटीको आधारभूत पूर्वाधार सम्बन्धि जानकारी गराईने छ ।

सूचना तथा सञ्चार प्रविधीको चुनौतिको रुपमा खडा भएको साईवर क्राईम र यसको रोकथाम सम्बिन्धि जानकारी समेत ईन्फोटेकमा प्रदान गरिने छ । माथिल्लो पुस्ता र नयाँ पुस्ता तथा ग्रामीण क्षेत्रमा समेत आईसिटीको प्रयोग बढाउनकालागि पनि ईन्फोटेक आयोजना गरिएको संरक्षक तथा क्यान महासंघ नेपालका उपाध्यक्ष सञ्जय थापाले बताउनु भयो ।

क्यान महासंघ नेपाल संरक्षकका रुपमा रहेको क्यान ईन्फोटेक सम्पन्न गर्नकालागि केन्द्रीय उपाध्यक्ष सञ्जय थापालाई संरक्षक चयन गरिएको छ । त्यस्तै रुपन्देहीका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य नवराज कुवँरको संयोजकत्वमा ५१ सदस्य सल्लाहकार समिति र अध्यक्ष रोशन कंडेलको संयोजकत्वमा १ सय १ सदस्यीय मुल आयोजक समिति गठन गरि तयारीका काम सुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

त्यस्तै फागुन १३ गते नेपालको सूचना तथा सञ्चार प्रविधी क्षेत्रको बिकास विस्तार सम्बन्धि अन्तरक्रिया गरिने छ । क्यान आईसिटी कन्फ्रेन्स नामक अन्तरक्रियामा आईटिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा बिषय विज्ञबाट कार्यपत्र पस्तुत गरिने अध्यक्ष कंडेलले बताउनु भयो ।