छक्का पन्जा जान्दिन

1.3K

छक्का पन्जा जान्दिन

गजल
*****
छक्का पन्जा जान्दिन म, नेपालको छोरा ।
धनुष बाण नि हान्दिन म, नेपालको छोरा ।।

पौरखी छु गरि खान्छु, पौरख नै हो सान ।
इज्जत फाल्न मान्दिन म, नेपालको छोरा ।।

मन सानो हुन्न कहिल्यै, मानवता धर्म मेरो ।
कोहीलाई शत्रु ठान्दिन म, नेपालको छोरा ।।

समान छ्न मान्छे सबै, सबैको रगत रातो ।
आफ्नो पराई छान्दिन म, नेपालको छोरा ।।

रिस राग छैन कत्ति, बुद्धको शान्ति ज्ञान ।
अरुको खुट्टा तान्दिन म, नेपालको छोरा ।।

लडिराख्छु सधैंभरि, अन्यायको विरुद्धमा ।
अत्याचार पनि धान्दिन म, नेपालको छोरा ।।

तिलक तारामी ” रेशाली “
बुटवल – १३, रुपन्देही