एउटै यज्ञमा १८ पुराण

1.3K

एउटै यज्ञमा १८ पुराण

बुटवल, २० माघ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वती पञ्चायतन मन्दिर वैदिकाश्रममा सुरु गरिएको स्वर्णमहोत्सव महायज्ञमा १८ पुराण पाठ पारायण गर्नुका साथै देवी भागवत्, महाभारत र बालमिकी रामायण पाठ गर्न सुरु गरिएको छ ।

आध्यात्मिक चिन्तनमा आकर्षण बढाउनकालागि एउटै यज्ञमा १८ पुराण पाठ पारायण सञ्चालन गरिएको यज्ञ सम्पादन समितिका सदस्य तथा मन्दिर व्यबस्थापन समितिका पूर्व सचिव रामचन्द्र पाण्डेले बताउनु भयो ।

त्यस्तै गायत्री भण्डप स्थापना गरि गायत्री पुनश्चरण गरिएको छ । जसमा २४ लाख गायत्री मन्त्रद्वारा हवन गरिँदै छ । गायत्री मन्त्रोत्चारण गरि हवन गर्नाले वातावरण शुद्ध हुने तथा जलबृष्टि बढाउने धार्मिक मान्यता छ । उक्त महायज्ञमा यी सबै कामकालागि १०८ ब्राह्मण परिचालन गरिएको मन्दिर व्यस्थापन समितिले जनाएको छ ।

मन्दिर स्थापना संगै प्रत्येक वर्ष गर्दै आएको महायज्ञ ५० औं पुगेको अवसरमा यो वर्ष माघको बुधबारदेखि देखि यहि माघको २९ गतेसम्म सर्वपुराण, महोत्सव तथा साङ्ग गायत्री पुरश्चरण धान्याचल महायज्ञ शुरु गरिएको हो ।

स्वर्ण महोत्सव महायज्ञकै अवसरमा माघकै २७ र २८ गते राष्ट्रिय सन्त–विद्वत् सम्मेलन समेत गर्ने तयारी गरिएको छ । उक्त सन्त सम्मेलनमा डा. गुरुप्रसाद सुवेदीले वर्ण व्यबस्था र वर्ण धर्म, नेपाल संस्कृति विश्वविद्यालयबाट वैदिक धर्म संस्कृति र संस्कृत भाषाको उन्नयन तथा प्राध्यापक मोहन भण्डारीले संविधानमा धर्म निरपेक्षताको व्यबस्था भएपछिको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

राष्ट्रिय सन्त–विद्वत् सम्मेलनमा देशका लब्ध प्रतिष्ठित सन्त महन्त, धर्मगुरु, पिठाधिश, संस्कृत विश्व विद्यालयका प्राज्ञहरु, हिन्दु धर्मका ज्ञाता तथा अध्यताहरु सहभागि हुनेछन् । राष्ट्रिय सन्त–विद्वत् सम्मेलनबाट वर्णधर्म व्यबस्था, संस्कृत भाषको उन्नयनको आगामी कार्यभार एवम् समसामयिक विषयमा मणिग्राम घोषणापत्र जारी गरिने बताईएको छ ।