मधेशलाई मिलाउने विकल्प दिए छलफलकालागि काँग्रेस तयार छ: पाण्डे

1.3K

मधेशलाई मिलाउने विकल्प दिए छलफलकालागि काँग्रेस तयार छ: पाण्डे

बुटवल, २१ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेकपा एमालेको नाटकीय राष्ट्रवाद भएको बताउँदै राष्ट्रवादी चिन्तन नै गरेको हो भने मधेशलाई मिलाउने विकल्प दिन आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसले सञ्चालन गरेको जागरण अभियान अन्तरगत बिहिबार रुपन्देहीको क्षेत्र नं. ४ मा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मधेशलाई मिलाउने विकल्प एमालेले दिन्छ भने त्यसमा छलफल गर्न नेपाली काँग्रेस तयार रहेको बताउनु भयो ।

नेपाली काँग्रेसले राष्ट्रिय सहमतिकोलागि प्रयत्न गरिरहेको बताउँदै उहाँले सहमतिकालागि नै संशोधन विधेयक ल्याएको उल्लेख गर्नुभयो । केन्द्रीय प्रतिनीधि पाण्डेले पार्टीका जिल्ला, क्षेत्र, नगर तथा गाउँ र वडा समितिहरुलाई एक महिना भित्र पूर्णता दिनकालागि पनि निर्देशन गर्नुभएको छ । उहाँले सबैको भावना र बिचारलाई समेटेर अंगाडी बढ्न आग्रह गर्नुभएको हो ।

नेपाली काँग्रेसको क्षेत्रीय समितिका कार्यालयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागिले स्थानीय तहको पुनसंरचनाले सबै क्षेत्रका जनतालाई समेट्न नसकेकाले मिलाउनु पर्ने, गुटगत राजनीतिले प्रशय पाउँदा पार्टी भित्रको भावनात्मक एकता बलियो हुन नसकेकाले त्यसतर्फ ध्यान दिईनुपर्ने, संविधान जारी गर्दा कोरिएको खाका अनुसार पाँच नम्बर प्रदेश टुक्राउन नहुने लगायका सुझाव केन्द्रीय प्रतिनीधि समक्ष राखेका थिए ।

क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सांसद हरिप्रसाद नेपालले पाँच नम्बर प्रदेशलाई टुक्राउन उचिन नहुने भन्दै त्यो निर्णयलाई पार्टीले पुनर्बिचार गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले संविधान संशोधन मार्फत पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला छुट्याउने प्रस्ताव यहाँका जनताको भावना विपरित भएकाले त्यसमा पूवर्बिचार गर्नुपर्ने बताउनु भयो ।

नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले स्थानीय निकायको सिमांकनमा बहुसंख्यक जनताको भावना समेटिन नसकेकाले पूनसंरचना मिलाउनुपर्ने सुझाव राख्नुभयो । कार्यक्रममा स्वागत उपसभापति परशुराम ढकाल तथा सचिव जोगबहादुर खत्रीले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी नेताहरु, नगर तथा वडाका सभापति, सुभेच्छुक संस्थाका प्रतीनिधीहरुको सहभागिता थियो । कार्यक्रममा उनीहरुले पार्टी भित्रको गतिबीधि जानकारी गराएका थिए ।

उक्त कार्यक्रम अन्तरगत रुपन्देहीमा गत १७ गतेदेखि क्षेत्रगत रुपमा अन्तरक्रिया कार्यक्रम हुँदै आएको छ । यो कार्यक्रम रुपन्देहीमा यहि माघको २३ गते सकिने केन्द्रीय प्रतिनीधि पाण्डेले जानकारी गराउनु भयो ।