सम्बन्धमा कुनै तिक्तता छैन – राजदुत रे

1.3K

सम्बन्धमा कुनै तिक्तता छैन – राजदुत रे

भैरहवा, २३ माघ । नेपालका लागि भारतीय राजुत रंजीत रेले बाहिर हल्ला भए जस्तो नेपाल भारत बीचको सम्बन्धमा कुनै तिक्तता नभएको बताउनु भएको छ । नेपाल भारत बीचको आत्मीय सम्बन्ध सरकारले नभई दुई देशका जनताले नै बनाएको रेले बताउनु भयो ।

नेपाल भारत अवध मैत्री समाजद्वारा आइतबार भैरहवामा राजुदत रंजीत रेको सम्मान एवं विदाई कार्यक्रममा बोल्दै रे ले नेपालमा शान्ति र स्थिरता भएमात्रै भारतको तीव्र विकास हुने र नेपालको शान्ति र समृद्धि नै भारतको मुख्य चाहना रहेको उल्लेख गर्नुभयो । ‘नेपालका जनताले जे चाहन्छन् त्यही कुराको समर्थन भारतले गर्दै आएको छ, छिमेकी मुलकसंगको सम्बन्ध राम्रो बनाए मात्र भारत अगाडी बढन सक्छ ।’ उहाँले भन्नुभयो ।

नेपालमा भएको जनशक्ति र प्राकृतिक सम्पदा नै विकासको प्रमुख पूर्वाधार भएकोले जनशक्ति र प्राकृतिक सम्पदाको सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो । पर्यटकको बसाई लम्ब्याउन सकेमात्रै पर्यटन बिकासको अर्थ रहने बताउँदै लुम्बिनी आउने पर्यटकको बसाई लम्व्याउने वातावरण बनाउने उहाँले आग्रह गर्नुभयो ।

नेपाल भारत अवध मैत्री समाजका संरक्षक एवं पूर्व भौतिक योजना तथा निर्माण मन्त्री हृयदेश त्रिपाठीले सीमा नाका नियन्त्रण गर्ने नाममा नाका बन्द गर्ने कुरा कुनै हालतमा मान्य हुन नसक्ने बताउनु भयो ।

भारतको भुमिका प्रशंसनीय र आलोचित दुवै किसिमको रही आएको बताउँदै त्रिपाठीले नेपालमा पात्र बदल्नासाथ भारतको प्रशंसा र आलोचना गर्ने प्रवृति रहेको उल्लेख गर्नुभयो ।

तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता त्रिपाठीले नेपालका लागि भारतीय राजदुत रंजीत रेले दुई देश बीचको सम्बन्ध आत्मीय बनाउन महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।