
झविन्द्र देवकोटा/
बुटवल, २८ माघ । रुपन्देही एकिकृत विद्यालय संगठन रिसन नेपालको बार्षिक खेलकुद कार्यक्रम अन्र्तगत जारी खेल सप्ताह शुक्रबार सकिएको छ ।
तिलोत्तमाको चपरहट्टी खेल मैदानमा संचालित खेल सप्ताहमा सहभागि रिसन अन्तरगतका १५ विद्यालयहरुलाई पछि पार्दै नवज्योति ईङ्गलिस बोर्डिङ्ग स्कुल मणिग्राम चारनम्बर विजयी भएको छ । नवज्योतिले ३१ अंक प्राप्त गरि प्रथम भएको हो । प्रतियोगितामा २७ अंकका साथ लिटिलस्टार भलवारी र न्यू ईन्भारमेन्ट मावि द्वितिय तथा २३ अंक प्राप्त गरि लिटिल प्याराडाईज भलवारी तृतिय भएको छ ।
प्रतियोगितामा सिनियरतर्फ नवज्योति ईङ्गलिस बोर्डिङ्ग स्कुल प्रथम, लिटिल प्याराडाईज र निलगिरी ईङ्गलिस बोर्डिङ्ग स्कुल द्वितिय, लिटिल स्टार ईङ्गलिस बोर्डिङ्ग स्कुल मधौलिया तृतिय र ईन्भारमेन्ट माविले प्रोत्साहन पुरस्कार हात पारेको छ । यस्तै जुनियरतर्फ न्यू ईन्भारमेन्ट मावि प्रथम, लिटिल स्टार मावि द्वितिय र नवज्योतीले तृतिय स्थान हासिल गरेको रिसनका कार्यक्रम संयोजक राजेन्द्र कुँवरले जानकारी दिनुभयो ।
रिसन नेपालका अध्यक्ष मधुप्रकाश ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासिय विद्यालय अर्गनाईजेशन प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, रिसनका संस्थापक अध्यक्ष डिबी थापा, न्यूलाईट उच्च माविका प्रिन्सिपल सिताराम भट्टराई, रिसनका उपाध्यक्ष समिर खान लगायतले विजयी विद्यार्थीहरुलाई शिल्ड, मेडल तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन रिसनका सचिव के.एन सागर ज्ञवालीले गर्नु भएको थियो ।
खेलकुद कार्यक्रम अन्तर्गत १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर दौड, रिले दौड, सटपुट, लङ्गजम्प, हाईजम्प लगायतका खेलहरु भएका थिए । छात्र छात्रा सिनियर तथा जुनियर तर्फका छनौट चरणका खेलकुदहरु सम्पन्न भएका छन् । यसैबीच रिसनले फागुन ३ र ४ गते अन्तरमावि भलिवल प्रतियोगिता गर्ने समेत जनाएको छ । भलिवल प्रतियोगिता प्याब्सनको कार्यालय शंकरपुरमा हुने रिसनका अध्यक्ष मधुप्रकाश ज्ञवालीले जानकारी दिनुभयो ।