
बुटवल, २९ माघ । नेपाल बिद्युत प्राधिकरणका कर्मचारीले काठमाण्डौमा सञ्चालन गरेको श्रमज्योति वचत तथा ऋण सहकारी संस्थाले सदस्यता बिस्तारकालागि बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको छ । प्राधिकरणमा कार्यरत कर्मचारीहरुको वचत गर्ने बानीको बिकास गराउने तथा उनीहरुलाई आपत विपद्मा बित्तिय सहायता प्रदान गर्ने उद्देश्यले २०५६ सालमा स्थापना गरिएको उक्त सहकारीमा हाल ५ हजार ५ सय शेयर सदस्य छन् ।
नेपाल बिद्युत प्राधिकरणमा ९ हजार ५ सय कर्मचारी रहेको र उनीहरु सबैलाई सहकारीको दायरामा ल्याउने संस्थाको प्रमुख उद्देश्य रहेको नेपाल बिद्युत प्राधिकरण कर्मचारी संघका अध्यक्ष तथा सहकारीका सञ्चालक जनार्दन भट्टराईले बताउनु भयो । सहकारीले सदस्यता बिस्तार अभियान अन्तरगत पश्चिम नेपालका बिभिन्न क्षेत्रमा कार्यक्रम सञ्चालन गरिसकिएको र पश्चिमाञ्चालको लुम्बिनी क्षेत्रका कर्मचारीलाई लक्षित गरेर कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो । उक्त सहकारीमा लुम्बिनी क्षेत्रबाट हालसम्म करिव १ सय ७५ जनाले शेयर सदस्यता लिएको सहकारीका प्रवन्ध निर्देशक हरिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
श्रमज्योति नेपाल अधिराज्यभरी सञ्चालित सहकारीमध्ये १० औं स्थानमा छ । आज बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलका क्षेत्रीय निर्देशक विभुतिनाथ मिश्रले कर्मचारीमा वचत गर्ने बानीको बिकास गराउने र आर्थिक स्तर उकास्नकालागि सहकारी स्थापना गरिएपनि यति लामो समय बितिसक्दा पनि सबै कर्मचारीलाई समेट्न नसक्नु दुःखको कुरा भएको बताउनु भयो ।
कार्यक्रममा बुटवल ग्रिड महाशाखाका कार्यालय प्रमुख भानुभक्त भट्टराई, संस्थाका शेयर सदस्यहरु राजेशकुमार शर्मा, जगतप्रसाद खनाल, संस्थापक सदस्य मित्रकुमार राई लगायतले भनाई राख्नुभएको थियो । गत पुस मसान्तसम्म ७ करोड ४० लाख रुपैंया पुँजी संकलन गरेको सहकारीले जलबिद्युतमा लगानी गर्नकालागि अध्ययन गरिरहेको तथा शेयर सदस्यलाई प्रदान गर्दै आएको ५५ हजार रुपैंया सम्मको स्वास्थ्य बिमालाई अभिबृद्धि गर्ने कामलाई अगाडी बढाईएको बताईएको छ ।
त्यस्तै वचत तथा ऋणबाट बहुउद्देश्यीयमा जानकालागि साधारण सभाले अख्तियारी प्रदान गरेको छ भने कर्मचारीको एकाघरका सदस्यलाई पनि शेयर वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको थियो । उक्त प्रस्ताव स्वीकृतिकालागि विभागमा पठाएको र विभागले स्वीकृति प्रदान गरेपनि शेयर वितरण सुरु गरिने प्रवन्ध निर्देशक सुवेदीले बताउनु भयो । सहकारीले कर्मचारी आवास योजना सुरु गरेको बताउँदै त्यसकालागि काठमाण्डौका बिभिन्न ठाउँमा जग्गा हेर्ने काम भईरहेको तथा कर्मचारी आवास योजनालाई उपत्यका बाहिर पनि लैजाने योजना रहेको उहाँले जानकारी गराउनु भयो ।