
बुटवल, ७ फागुन । शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रको छैठौँ वार्षिक साधारण सभा आज शंकरनगर बन बाटिकामा सम्पन्न भएको छ । शंकरनगर सामुदायिक बनमा २०६२ सालमा स्थापना भएको बन बिहार तथा अनुसन्धान केन्द्र पश्चिमाञ्चल क्षेत्रकै केन्द्रका रुपमा बिकास हुँदै गएको र त्यसको समुचित बिकास अपरिहार्य रहेको साधारण सभामा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।
साधारण सभामा बन बिहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले सुविधा सम्पन्न पार्क तथा विश्राम स्थल, बनभोज तथा विवाहकालागि उपर्युक्त सेडको निर्माण, वाल उद्यान, वितरा तथा लोपोन्मुख बन्यजन्तु तथा बनस्पतिको संरक्षण, प्रवद्र्धन तथा अनुसन्धान, व्यबसायिक लाभकालागि नर्सरी स्थापना, सदाबहार बोट विरुवा रोपण तथा संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जडिबुटि खेतीका लागि बोटानिकल गार्डेनको रुपमा बिकास तथा पुष्प व्यबसायको समेत सम्भावना रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने, पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रमहरु भ्युटावर, एक्युरिएम, हरर हाउस, लुम्बिनीसंग जोड्ने गरी विपश्यना ध्यान केन्द्र, ऐतिहासिक कुवा संरक्षण लगायतका कामहरु अगाडी बढाउन आवश्यक देखिएको उल्लेख गर्नुभयो ।
केन्द्रले भ्युटावर निर्माण, वाल रेल सञ्चालन, चिडिया खानलाई स्तरोन्नती, बोटानिकल गार्डेन, हरर हाउस, प्राकृतिक पोखरी निर्माण लगायतका कार्यक्रमलाई दीर्घकालिन योजनाको रुपमा अँगाडी सारेको छ । शंकरनगर सामुदायिक बनको ५ सय ७६ हेक्टर बनमध्ये ५१ हेक्टर बन शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रको रुपमा छुट्याईएको छ । जसले रुपन्देही जिल्लामै नमुनाको रुपमा अंघि बढेको दावी समेत गरिएको छ ।
साधारण सभामा बोल्दै तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत मोहन पौडेलले शंकरनगर सामुदायिक बनमा सञ्चालन गरिएको बन बिहार तथा अनुसन्धान केन्द्रलाई नगरको पुँजीको रुपमा लिईको बताउँदै त्यसको बिकासकालागि नगरपालिकाले प्राथमिकताका आधारमा सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य यमबहादुर खत्री, एमाले रुपन्देहीका सदस्य मोहन चापागाई, माओवादी केन्द्रका केन्द्रीय सदस्य वेलप्रसाद शर्मा, नेकपा माओवादीका विष्णु वेलवासे, अखण्ड नेपालका मनबहादुर भण्डारी लगायतले विकासकालागि राजनीति हुनेहुँदा बिकासमा सबै एक हुनु पर्ने बताएका थिए । उनीहरुले शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्रको बिकासकालागि आफूहरुले सधै सकारात्मक भूमिका निर्वाह गर्ने समेत बताए ।
कार्यक्रममा शंकरनगर बहुमुखी क्याम्पसका चण्डीप्रसाद पाण्डे, आजिवन सदस्य भेषराज गैरे, सुलोचना नेपाल लगायतले शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र ईको टुरिजमको रुपमा बिकास हुँदै गएकाले त्यस भित्र विकृति रहित वातावरण बनाउनु पर्ने सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव खिमलाल पाण्डेले गर्नुभएको थियो ।