सिके राउतका कार्यकर्ताले प्रहरीको हतियार खोसे

1.3K

सिके राउतका कार्यकर्ताले प्रहरीको हतियार खोसे

भैरहवा, ८ फागुन । रुपन्देहीको मर्चवार क्षेत्र दुई दिनदेखि तनावग्रस्त बनेको छ । सिके राउतका कार्यकर्ताले शनिबार मर्चवार माध्यमिक विद्यालयमा गर्न लागेको सभा प्रहरीले बिथोलिदिएपछि त्यसको विरोधमा आइतबार फेरि प्रहरीको गाडीमाथि आक्रमण भएको छ ।

प्रहरीमाथि आक्रमण भएपछि स्थिति तनावग्रस्त बनेको हो । झडपका क्रममा सिके राउतका कार्यकर्ताले प्रहरीको हतियारसमेत खोसेका छन् । कार्यकर्ताले प्रहरीको लङ ब्यारेल गन खोसेर लगेको प्रहरीले जनाएको छ । वडुवलिया प्रहरी चौकीमा कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरेको छ । रुपन्देही प्रहरी प्रवक्ता वेलवहादुर पाण्डेले पाँच राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको जानकारी दिए । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । करिव २ सय ५० सुरक्षाकर्मीहरु मर्चवार क्षेत्रमा तैनाथ रहेको प्रहरीले जनाएको छ ।

शनिबार भएको झडपमा राउतका २१ जना कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएको थियो भने ट्रकमा आगजनी भएको थियो । आइतबार भएको झडपमा केही सुरक्षाकर्मीसहित कार्यकर्ताहरु घाइते भएका छन् ।