क्यान इन्फोटेकमा एक सय ४० स्टल दर्ता

1.3K

क्यान इन्फोटेकमा एक सय ४०  स्टल दर्ता

बुटवल, ९ फागुन । क्यान महासंघ नेपाल, रूपन्देहीको आयोजनामा यही फागुन १२ गतेदेखि बुटवलमा हुन लागेको ‘डिजिकम क्यान इन्फोटेक–२०१७’को तयारी अन्तिम चरणमा पुगेको छ ।

मेलाका लागि टिकट छपाई, स्टल र गेट  निर्माण  लगायतका कामहरु भइसकेको छ । इन्फोटेकमा एक सय ४०  स्टल दर्ता भएको आयोजकले जानकारी दिएका छन् ।  विशेषगरी प्राविधिक शिक्षा तथा जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा प्रविधिको प्रयोग र सुरक्षालाई जोड दिइएको छ  ।

महासंघले अनलाइन  प्रविधिबाट पहिलो पटक उपत्यका वाहिर वारकोडको प्रयोग गरी प्रवेश गर्ने व्यवस्था गरेको छ । यस्तो प्रकारको प्रविधिले प्रदर्शनीलाई पूर्णतया सुरक्षित बनाउने संघका अध्यक्ष रोशन कंडेलले जानकारी गराउनुभयो । उहांले अबका दिनमा बैंक, व्यवसायिक प्रतिष्ठान लगायत संवेदनशिल क्षेत्रमा  सुरक्षा गार्ड र सिसिटिभीको मात्र भर नपरि अनलाइन प्रविधिको प्रयोग गर्नका लागि प्रदर्शनीले सन्देश दिने बताउनुभयो ।

त्यसैगरी  क्यानका केन्द्रीय सदस्य नवराज कुंवरले प्रदर्शनी क्षेत्रमा चारैतर्फ सिसि टिभी क्यामराबाट प्रदर्शनी स्थल लगायत सम्पूर्ण गतिविधिहरुलाई अवलोकन तथा निगरानी गर्ने जानकारी दिनुभयो । इन्फोटकको बिहीबार समुद्घाटन हुने प्रचारप्रसार तथा अतिथि सत्कार संयोजक बिरु क्षेत्रीले जानकारी दिनुभयो ।