
बुटवल, ११ फागुन । नेपाल पत्रकार महासंघ रुपन्देहीको दशौं अधिवेशनमा निर्वाचन समितिले निष्पक्ष निर्वाचन गराउन नसकेको भन्दै विभिन्न पत्रकार सम्बद्ध संगठनले आपत्ति जनाएका छन् ।
फागुन ३ गते बुटवलमा भएको महासंघको निर्वाचनमा निष्पक्ष चुनाव गराउन खटिएकै समितिबाट भएको पुर्वाग्रही भुमिका प्रति नेपाल प्रेस युनियन रुपन्देही, नेपाल प्रेस सोसाईटी रुपन्देही र संघीय पत्रकार परिषदले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्का, नेपाल प्रेस सोसाईटी रुपन्देहीका अध्यक्ष रमेश पोखरेल र संघीय पत्रकार परिषदका केन्द्रीय सदस्य सोनु थापाद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षणपत्रमा निर्वाचन प्रक्रिया र निर्वाचन समितिको भुमिका प्रति गम्भीर प्रश्न उठाइएको छ ।
आज पत्रकार महासंघमा निर्वाचन समितिका संयोजक बसन्तराज खनाललाई बुझाइएको ध्यानाकर्षणपत्रमा मत गणनाका क्रममा सचिव लगायतका पदमा बराबर परिणाम आएपनि निर्वाचन समितिले पूर्वाग्रही रुपमा प्राप्त भएको मतलाई समेत घटाएर लज्जास्पद र आपत्तिजनक निर्णय गरेकाले त्यसलाई तुरुन्त सच्याउन या पुनः निर्वाचन गराउन माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा निर्वाचन समितिले दिएकै मतपत्रमा मतदाताले आफ्नो मत प्रकट गरेपनि उक्त मतको सम्मान नगरी एक पक्षिय रुपमा मत परिणाम सार्वजनिक गरिएकाले मतदाता प्रति नै घोर अपमान भएको उल्लेख गरिएको छ । ध्यानाकर्षपत्रमा मतदान स्थल गोप्य नभएको, मतदान गरेको सजिलै देख्न सकिने अवस्था भएको, उम्मेदवार मतदाताको पछि पछि मतदान स्थलसम्म पुगी मतदातालाई मतपत्रको फोटो समेत खिचेर ल्याउन बाध्य पारि गोप्य मतदानको अधिकारबाट बञ्चित बनाईदा समेत निर्वाचन समिति मुखदर्शक बन्नु खेद जन्य रहेको उल्लेख छ ।
निर्वाचन समितिले निर्णय सच्चाउने वा पुनः निर्वाचन गराउने तर्फ चासो नदिए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक हुने बताइएको छ ।