विद्यार्थीहरुलाई वित्तिय साक्षरता

1.3K

विद्यार्थीहरुलाई वित्तिय साक्षरता

मुक्तिप्रसाद न्यौपाने/
पाल्पा, ११ फागुन । मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले तानसेन बहुमुखी क्याम्पसमा बचत, ऋण, बिमा, वित्त व्यवस्थापन र यसको महत्वका विषयमा साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बचतले अनिश्चित भविष्यलाई योजनाबद्ध रुपमा अगाडी बढाउन सहयोग गर्ने तालिम अधिकृत शर्मीला लम्सालले बताईन् । विद्यार्थीहरुलाई सहजिकरण गर्दै लम्सालले विद्यार्थी जीवनमा गरिने सानो बचतले उद्यमशीलतामा सहयोग पुग्ने बताईन् । ‘व्यवसायिक र उद्यमी बन्नकालागि व्यवसायिक योजना आवश्यक पर्ने र त्यसका लागि वित्तिय स्रोतको प्रबन्ध गर्नुपर्छ ।

घरपरिवारको समृद्धिका लागि पनि वित्त आवश्यक पर्छ । फजुल खर्च कटाएर बचत गर्दा सुनौलो भविष्यकालागि सहयोग हुन्छ,’–लम्सालले भनिन् । साक्षरता कार्यक्रममा पाल्पा शाखाका प्रबन्धक नारायण पौडेलले वित्तिय पहुँचको कमीका कारण अनौपचारिक रुपमा कारोबार हुने गर्दा जोखीम थपिने गरेको बताए । उनले मुक्तिनाथ बैंकले सामाजिक उत्तरदायित्व वहन गर्न सार्वसाधरण जनतामा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

‘छरिएर रहेको पुँजीलाई एकत्रित गरि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सके देशको अर्थतन्त्रमा सहयोग पुग्छ जसले सामाजिक रुपान्तरणको ढोका खोल्न मद्दत गर्दछ,’–क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले भने । उनले आम्दानी र खर्च बीच सामञ्जस्य राख्न, खर्चहरुको प्राथमिकरण गरि तालमेल विद्यार्थीहरुले मिलाउनु जरुरी रहेको बताएका थिए ।

साक्षरता कार्यक्रममा स्थानीय स्तरमा रहेको बचतको परिचालन र कर्जा प्रवाह मार्फत् वित्तिय सेवामा पहुँच पु¥याउन प्राध्यापकहरुले सुझाव व्यक्त गरेका थिए । बैंकले आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तिय साक्षरता कार्यक्रम नेपालको एक सय ४० स्थानहरुमा सम्पन्न गरिसकेको जनाएको छ ।