एपिएफलाई पाखा लगाउँदै संकटा सेमिफाईनलमा

1.3K

एपिएफलाई पाखा लगाउँदै संकटा सेमिफाईनलमा

बुटवल, १६ फागुन । तिलोत्तमा गोल्ड कप फूटवल प्रतियोगितामा विभागिय टिम सशस्त्र प्रहरी वल (एपिएफ)लाई पाखा लगाउँदै सिएमजी संकटा क्लव सेमिफाईनलमा प्रवेश गरेको छ ।

आज भएको क्वाटर फाईनल खेलमा एक का बिरुद्ध दुई गोल गर्दै संकटा सेमिफाईनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरीमा अगाडी बढेको प्रतियोगिता अत्यन्तै कडा प्रतिस्पर्धाका बिच संकटा सेमिफाईनको यात्रा सुरक्षित गरेको हो । खेलको दोस्रो हाफको तेस्रो मिनेटमै संकटाका विदेशी खेलाडी मार्टिनले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

सोही हाफको २३ औं मिनेटमा एपिएफका रवि थिङ्ले गोल गरेर खेल बराबरीमा पुगेको थियो । यद्यपी निर्धारित समयमा कुनै पनि टिमले थप गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको थियो । निर्धारित समयमा खेल बराबरी भएपछि अतिरिक्त २० मिनेट खेल खेलाईएको थियो । अतिरिक्त समयको १५ औं मिनेटमा संकटाका विदेशी खेलाडी कोन मुसाले विपक्षी टिमका किपर राजु नगरकोटी अगाडी बढेको मौका छोपेर गोल गरेका थिए । सोही गोल नै संकटाकालागि निर्णायक बन्यो ।

जितसंगै संकटा आगामी बुधबार हिमालयन शेर्पा क्लवसंग सेमिफाईनलमा भिड्ने छ । प्रतियोगिताको मंगलबारको खेल विभागिय टिम नेपाल आर्मी र नेपाल प्रहरीका बिच हुने आयोजक जिल्ला फूटवल संघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसीले बताउनु भयो ।